विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सोनाम ल्होसार पर्व नेपाली समाजको साझा र महत्त्वपूर्ण सांस्कृतिक धरोहर भएको बताउनुभएको छ। तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले सोनाम ल्होसारले समाजमा आपसी सद्भाव, सहअस्तित्व र सकारात्मक ऊर्जाको सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।
मेयर कोइरालाले माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व केवल तामाङ समुदायमा मात्र सीमित नभई समग्र नेपाली समाजको सांस्कृतिक पहिचानसँग जोडिएको बताउनुभएको छ। प्रकृति, समयचक्र र जीवनशैलीसँग गहिरो सम्बन्ध राख्ने यस उत्सवले नयाँ आशा, संकल्प र सुरुवातको प्रतीकका रूपमा विशेष महत्त्व बोकेको उहाँको भनाइ छ। विराटनगरलाई बहुधार्मिक, बहुसाम्प्रदायिक तथा बहुसांस्कृतिक सहरका रूपमा चित्रण गर्दै उहाँले विभिन्न भाषा, धर्म र संस्कृतिबीचको आपसी सम्मान तथा सामाजिक सद्भाव नै सहरको वास्तविक शक्ति भएको स्पष्ट पार्नुभयो।
विविधताभित्रको यही एकताले विराटनगरलाई समृद्ध, समावेशी र अग्रगामी सहरका रूपमा स्थापित गरेको बताउँदै मेयर कोइरालाले यस्ता पर्वहरूले सांस्कृतिक पहिचानको संरक्षण र भावी पुस्तामा आपसी सम्मानको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सोनाम ल्होसारका अवसरमा सबै जाति, भाषा र समुदायबीच भाइचारा र शान्ति प्रगाढ हुने अपेक्षा समेत राख्नुभएको छ।
शुभकामना सन्देशको अन्त्यमा मेयर कोइरालाले तामाङ समुदायसहित सम्पूर्ण विराटनगरवासी तथा देश–विदेशमा रहेका नेपालीहरूको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ। उहाँले विविधतामा एकता कायम गर्दै समुन्नत विराटनगर निर्माणका लागि सबै नगरवासीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।