काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम अन्तिम टुंगो लगाएको छ ।
पार्टीले शीर्ष नेताहरू र विभिन्न दलबाट आएका नेताहरूको समीकरण मिलाउँदै उम्मेदवार चयन गरेको हो । जसअनुसार, प्रभावशाली नेता भीम रावल अछाम निर्वाचन क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रिने भएका छन् ।
कैलालीमा को–को ?
कैलालीका ५ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरिएको छ । पूर्वमन्त्री तथा साविक एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेमगरले कैलाली–५ बाट टिकट पाएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट लड्ने चर्चा रहे पनि अन्ततः नेकपाबाटै उम्मेदवार बन्ने भएका हुन् ।
यस्तै, कैलाली–१ मा टीकापुर नगरपालिकाका प्रमुख एवं साविक नागरिक उन्मुक्ति पार्टीका नेता रामलाल डगौरा थारु उम्मेदवार बन्नेछन् । क्षेत्र नं. २ मा राजेन्द्र साउँद, ३ मा विरमान चौधरी र ४ मा हरि चौधरी ‘उत्सव’ लाई उम्मेदवार बनाइएको छ । साउँद र चौधरीद्वय साविक माओवादी पृष्ठभूमिबाट आएका हुन् ।
कञ्चनपुर र पहाडी जिल्लाको समीकरण
कञ्चनपुर–१ मा पूर्वमन्त्री बिना मगर, २ मा लालबहादुर खड्का (साविक एकीकृत समाजवादी) र ३ मा मानबहादुर सुनारले उम्मेदवारी दिने भएका छन् ।
पहाडी जिल्लातर्फ अछाम–२ मा माओवादी पृष्ठभूमिका शरदसिंह भण्डारी, डोटीमा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, डडेल्धुरामा मानसिंह माल, दार्चुलामा लक्ष्मणदत्त जोशी र बझाङमा मीनबहादुर कुवरले टिकट पाएका छन् । बैतडीमा साविक एकीकृत समाजवादीका परमानन्द भट्ट र बाजुरामा एमाले परित्याग गरी नेकपा प्रवेश गरेका पूर्व प्रदेशमन्त्री प्रकाश शाह उम्मेदवार बनेका छन् ।
भागबण्डाको हिसाब
प्रस्तावित उम्मेदवारहरूको सूचीमा पार्टी एकताअघिका विभिन्न घटकहरूलाई समेट्ने प्रयास गरिएको छ । १६ सिटमध्ये साविक नेकपा माओवादी केन्द्रबाट १० जना, नेकपा एकीकृत समाजवादीबाट ३ जना, नागरिक उन्मुक्ति पार्टीबाट १ जना र मातृभूमि जागरण अभियानबाट १ जनाले टिकट पाएका छन् । बाँकी एक सिटमा एमाले छोडेर नेकपा प्रवेश गरेका नेतालाई अवसर दिइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।