लोड हुँदैछ...

मेनु

नेकपाका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने

नेकपाका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आगामी संसदीय निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि श्रेष्ठले सर्लाही-३ रोजेका हुन्।

नेकपाले ललितपुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरे पनि नेता श्रेष्ठले भने सर्लाहीबाटै चुनाव लड्ने निर्णय गरेका छन्। उनले भने, ‘हो, म यसपटक सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछु।’

हाल राष्ट्रिय सभा सदस्य रहेका नेकपाका पाँचौँ बरियताका नेता श्रेष्ठसहित १९ सांसदको कार्यकाल निर्वाचनको ठिक एक दिनअघि अर्थात् फागुन २० गते सकिँदैछ।

स्थानीय तहको नतिजामा ढुक्क
सर्लाही-३ अन्तर्गत हरिवन र बागमती नगरपालिका पर्दछन्। गत स्थानीय तहको निर्वाचनमा यी दुवै पालिकामा माओवादीका उम्मेदवार विजयी भएका कारण पनि श्रेष्ठले यो क्षेत्रलाई सुरक्षित मानेको देखिन्छ।

यद्यपि, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने यो क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका थिए। उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर माओवादी केन्द्रका नरेन्द्र साह कलवार (३२ हजार १६८ मत) लाई ७७० मतान्तरले पराजित गरेका थिए। त्यसअघि २०७४ सालको निर्वाचनमा भने माओवादी केन्द्रका रामेश्वर राय यादव यहाँबाट विजयी भएका थिए।

को–को थिए सिफारिसमा?
सर्लाही-३ बाट उम्मेदवारका लागि नेकपाले नेता श्रेष्ठसहित अच्युतम काफ्ले, रामेश्वर राय यादव, नरेन्द्र साह, राजकुमार यादव, सञ्जय गुप्ता र विश्वनाथ सिंहलगायतको नाम सिफारिस गरेको थियो। तर, अन्त्यमा श्रेष्ठले नै टिकट पक्का गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।