भोजपुर । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा बीउ बैंक स्थापना दिवसको अवसर पारेर भोजपुरको दिंला बजारमा प्रथम कन्दमुल प्रदर्शनी आयोजना गरिएको छ ।
षडानन्द नगरपालिकाको आयोजनामा बुधबार एकदिने प्रदर्शनी सम्पन्न भएको हो ।
प्रदर्शनीमा षडानन्द नगरपालिकाका १४ वटै वडाका कृषक समूहले उत्पादन गरेका विभिन्न प्रकारका कन्दमुलहरू प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीको नगरप्रमुख सुरेन्द्रकुमार उदास, उपप्रमुख प्रमिला राई, प्रमुख प्रशासकीय अधिकृत मणिकुमार तामाङलगायतले अवलोकन गरेका थिए ।
अवलोकनपछि नगरप्रमुख उदासले स्थानीय कन्दमुलको संरक्षण र व्यवसायीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदर्शनीमा वडा नम्बर १० को पुनर्जागरण बहुउद्देश्यीय कृषक समूह प्रथम, वडा नम्बर ४ को शुभबिहानी कृषक समूह दोस्रो र वडा नम्बर ८ को सेमेङ फलफूल तथा कृषक समूह तेस्रो भएका छन् । त्यस्तै, सान्त्वनातर्फ वडा नम्बर ९ को पञ्चकन्या कृषक सहकारी संस्था, वडा नम्बर १३ को बोयाली बहुउद्देश्यीय कृषि तथा नर्सरी कृषक समूह र वडा नम्बर १४ को बिहीबारे फलफूल खेती कृषक समूह चयन भएका छन् ।
सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ तथा षडानन्द नगरपालिका कृषि शाखाका प्रतिनिधि सम्मिलित निर्णायक टोलीले उत्कृष्ट समूहहरूको छनोट गरेको हो । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक–एक हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
विजेता समूहहरूलाई नगर उपप्रमुख प्रमिला राई, वडा नम्बर ९ का वडाध्यक्ष तथा कृषि विकास समिति सभापति निङ्मा शेर्पालगायतले नगद र प्रमाणपत्र वितरण गरेका थिए । आयोजकले प्रदर्शनीले कन्दमुलको महत्व उजागर गर्दै स्थानीय कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।