लोड हुँदैछ...

मेनु

टेम्केका महिलालाई व्यावसायिक तरकारी खेती तालिम

टेम्केका महिलालाई व्यावसायिक तरकारी खेती तालिम

भोजपुर। महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका महिलालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी ५ दिने तालिम प्रदान गरिएको छ।

स्थानीयस्तरमै रोजगारी सिर्जना र महिलाको आयआर्जन बढाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो।

परम्परागत कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा मौसमअनुसार तरकारी छनोट, उन्नत खेती प्रविधि, प्लास्टिक टनेल निर्माण, जैविक मल तथा विषादी तयारी, बीउ–बिजनको ब्याड बनाउने तरिका, सिँचाइ व्यवस्थापन र रोग–किरा नियन्त्रणसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको आयोजकले जनाएको छ।

वडाअध्यक्ष नरबहादुर राईका अनुसार महिलालाई सीपमूलक तालिममार्फत कृषि उद्यमसँग जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। तालिममा सहभागी २५ जना महिलालाई आवश्यक बीउ–बिजनसहित ८५ प्रतिशत अनुदानमा एक–एक थान प्लास्टिक टनेल वितरण गरिएको उनले जानकारी दिए।

तालिमपछि महिलाले आफ्नै खेतबारीमा व्यावसायिक तरकारी खेती गरी नियमित आम्दानी लिन सक्ने विश्वास व्यक्त गरिएको छ। तालिममा सहभागी महिलाले सिकेका सीप व्यवहारमा उतार्दै सामूहिक तथा व्यक्तिगत रूपमा तरकारी खेती गर्ने बताएका छन्। यसले बाहिरबाट आयात हुने तरकारीमा निर्भरता घट्नुका साथै स्थानीय बजारमा ताजा र गुणस्तरीय तरकारीको आपूर्ति बढ्ने उनीहरूको भनाइ छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तिकरणसँगै गाउँको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइन्। कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाको महिला लक्षित योजनाअन्तर्गत सञ्चालन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।