लोड हुँदैछ...

मेनु

सन् २०२६ मा मोबाइल र कम्प्युटर महँगिनेस् एआईका कारण र्‍यामको मूल्यमा भारी वृद्धि

सन् २०२६ मा मोबाइल र कम्प्युटर महँगिनेस् एआईका कारण र्‍यामको मूल्यमा भारी वृद्धि

काठमाडौँ । यदि तपाईं यस वर्ष सन् २०२६ मा नयाँ मोबाइल वा कम्प्युटर किन्ने योजनामा हुनुहुन्छ भने आफ्नो बजेट केही बढाउनुपर्ने भएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो मागका कारण र्‍याम र स्टोरेज डिभाइसहरूको मूल्यमा तीव्र वृद्धि भएपछि विद्युतीय उपकरणहरूको बजार महँगिने देखिएको छ।

बीबीसीले उल्लेख गरेअनुसार, अक्टोबर २०२५ यता र्‍यामको मूल्य दोब्बरभन्दा बढी भइसकेको छ। कतिपय अवस्थामा यसको लागत ५०० प्रतिशतसम्म बढेको रिपोर्टहरूले देखाएका छन्। विशेषगरी ठूला डेटा सेन्टरहरूको विस्तार र एआई प्रविधिको विकासका लागि उच्च क्षमताका र्‍याम आवश्यक पर्ने भएकाले बजारमा यसको अभाव र मूल्य वृद्धि देखिएको हो।

कम्प्युटर निर्माता कम्पनी ‘साइबर पावर पीसी’ का जनरल म्यानेजर स्टिभ मेसनका अनुसार, पहिले एउटा कम्प्युटरको कुल लागतमा र्‍यामको हिस्सा १५ देखि २० प्रतिशत हुन्थ्यो। तर, अहिले यो बढेर ३० देखि ४० प्रतिशतसम्म पुगेको छ। यसले गर्दा निर्माताहरू आफ्ना उत्पादनको मूल्य बढाउन बाध्य भएका छन्।
टेक इनसाइड्सका विशेषज्ञ माइक हावर्डका अनुसार सन् २०२६ मा एउटा सामान्य ल्यापटपको मूल्य ४० देखि ५० डलर (करिब ५ हजारदेखि ७ हजार नेपाली रुपैयाँ) सम्म बढ्न सक्छ। त्यस्तै, स्मार्टफोनको मूल्यमा पनि प्रतिसेट ३० डलरसम्म वृद्धि हुने अनुमान गरिएको छ। अमेजन र गुगलजस्ता प्राविधिक दिग्गजहरूले आफ्ना एआई सेवाका लागि भारी मात्रामा र्‍याम सञ्चय गरिरहेकाले साधारण उपभोक्ताका लागि आपूर्तिमा समस्या देखिएको हो।

बजारमा र्‍याम आपूर्ति गर्ने ठूला कम्पनीहरूले अब सामान्य उपभोक्ताभन्दा एआई क्षेत्रलाई प्राथमिकता दिने घोषणा गरिसकेका छन्। यस्तो परिस्थितिमा उपभोक्ताहरूका लागि अब तीनवटा मात्र विकल्प बाँकी रहने विज्ञहरूले बताएका छन् :
१. बढी मूल्य तिर्नेः महँगो मूल्य तिरेरै भए पनि नयाँ र आधुनिक उपकरण खरिद गर्ने।
२. कम क्षमतामा चित्त बुझाउनेः कम शक्तिशाली वा थोरै र्‍याम भएको सस्तो उपकरण रोज्ने।
३. पुरानै उपकरण मर्मत गर्नेः नयाँ किन्नुको साटो आफ्ना पुराना मोबाइल वा कम्प्युटरलाई नै थप मर्मत गरेर केही समय चलाउने।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।