बीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शन र त्यसपछि हिन्दु समुदायको प्रतिकारात्मक गतिविधि बढ्दै जाँदा वीरगञ्जमा धार्मिक तनाव चर्किएको छ ।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञाको आदेश जारी गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ९(क) बमोजिम वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो । आदेशअनुसार अर्को सूचना जारी नभएसम्म कुनै पनि प्रकारका सभा, भेला, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ।
आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिने पनि सूचनामा उल्लेख छ। पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो।
शनिबार धनुषाको एक मस्जिदमा भएको तोडफोडको घटनापछि त्यसको विरोधमा वीरगञ्जमा मुस्लिम समुदायले प्रदर्शन सुरु गरेका थिए । सो प्रदर्शन क्रमशः चर्किँदै गएपछि वीरगञ्जसहित मधेसका विभिन्न स्थानमा दुई समुदायबीच तनाव बढेको बताइएको छ ।
आइतबार वीरगञ्जमा हिन्दु समुदायले समेत ‘जय श्रीराम’को नारा लगाउँदै प्रदर्शन थालेपछि अवस्था झनै संवेदनशील बनेको प्रशासनको भनाइ छ। धनुषाको मस्जिद तोडफोड प्रकरणलाई लिएर बिहानैदेखि हिन्दूवादी संगठनहरू पनि प्रदर्शनमा उत्रिएका थिए ।
मुस्लिम र हिन्दू दुवै समुदाय सडकमा उत्रिएपछि सम्भावित झडप र अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले सबै पक्षलाई संयमता अपनाउन र धार्मिक सद्भाव कायम राख्न आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।