लोड हुँदैछ...

मेनु

माघ स्नान र स्वस्थानी व्रत आजदेखि सुरु

माघ स्नान र स्वस्थानी व्रत आजदेखि सुरु

विराटनगर । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनालाई वैदिक सनातन धर्मावलम्बीले माघ स्नान, स्वस्थानी व्रत तथा कथा वाचनको विशेष समयका रूपमा मनाउने गरेका छन् ।

सतीदेवीका अङ्ग पतन भएका शक्तिपीठमा देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा प्राचीनकालदेखि चल्दै आएको हो। यही परम्पराअनुसार शनिबारदेखि घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत र कथा वाचन सुरु गरिएको छ।

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर व्रतको सुरुआत गरिन्छ। व्रत अवधिभर बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने चलन छ। साँझतिर स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्यको कुमार–अगस्त्य संवाद रहेको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ। कुल परम्पराअनुसार कतै बिहान त कतै बेलुकी कथावाचन गरिन्छ।

एक महिनासम्म विधिपूर्वक व्रत गरेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी अर्पण गरी व्रत सफल होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ। अर्पण गरिएका प्रसादमध्ये सबैबाट आठ–आठ भाग पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई दिइन्छ। यिनै कोही नभएमा नजिकको पवित्र नदीमा प्रसाद बगाइने विधि रहेको छ।

व्रतको अन्तिम रात सय रोटी फलाहार गरी जाग्राम बस्ने चलन छ। जाग्रामका क्रममा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसो गरेमा व्रतालुको मनोकामना पूरा हुने धार्मिक विश्वास छ। ‘स्वस्थानी’ शब्दले आफू बसेको स्थानकी देवी भन्ने अर्थ जनाउँछ। उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त हुने भएकाले आत्मिक अभ्याससँग पनि स्वस्थानीको सम्बन्ध रहेको विश्वास पाइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवीका रूपमा वर्णन गरिएको छ। उनका अनुसार देवीका चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा रहेको उल्लेख छ। यस्तो विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याधि निको हुने र इच्छाएको जीवनसाथी प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

स्वस्थानी कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशनअनुसार स्वस्थानी व्रत गरेकी थिइन्। व्रतकै प्रभावले नाग–नागिनीको पुनर्मिलन भएको र गोमा ब्राह्मणीले सप्तऋषिबाट सिकेको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति पाएको कथा पनि स्वस्थानीमा वर्णित छ। यही कथामा गोमाका छोरा नवराज लावण्य देश, हालको साँखु क्षेत्रका राजा भएको उल्लेख पाइन्छ।

यस अवसरमा आजैदेखि काठमाडौँ उपत्यकाको उत्तर–पूर्वी भेगमा अवस्थित साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायणको मेला सुरु भएको छ। काठमाडौँबाट करिब १८ किलोमिटर दूरीमा रहेको शालिनदीमा माघ महिनाभर स्नान गरी माधवनारायण र श्रीस्वस्थानीको दर्शन गरेमा पाप नाश भई पुण्य प्राप्त हुने विश्वास छ। यही विश्वासका कारण प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।

शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको माधवनारायण मेलाका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। शालिनदीमा स्नान तथा माधवनारायण र स्वस्थानी देवीको दर्शनका लागि देशका विभिन्न भागका साथै छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।