धरान । सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि १३औँ भेडेटार खाना महोत्सव सुरु भएको छ।
‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ होटल एसोसिएसन भेडेटारको आयोजनामा सुरु भएको महोत्सव आगामी पुस १८ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री षडानन्द मण्डलले गरे । महोत्सवमा अर्गानिक खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन तथा विविध खानाका परिकारहरू प्रदर्शनीमा राखिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए।
महोत्सव अवधिभर भेडेटार आएका पर्यटकलाई स्काइ वाक, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर, नाम्जेको थुम्कीस्थित आत्माघर, सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरी गढी, नाम्जेको होमस्टे र ध्वजे डाँडालगायत प्रमुख पर्यटकीय स्थलको अवलोकन गराइने व्यवस्था गरिएको छ। आयोजकका अनुसार महोत्सवमा ५० देखि ६० हजार पर्यटक सहभागी हुने अनुमान छ ।
महोत्सवमा दुई करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।