विराटनगर । पूर्वी नेपालसहित तराई–मधेशका जिल्लाहरूमा विगत केही दिनदेखि चलेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन निकै कष्टकर बनेको छ । बाक्लो हुस्सु, कुहिरो र चिसो हावाको प्रभावले गर्दा तराईका जिल्लाहरूमा न्यूनतम तापक्रम घट्नुका साथै सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।
विगत पाँच दिनदेखि घाम नलाग्दा र बाक्लो हुस्सुका कारण दृश्यदुरी (भिजिबिलिटी) कम हुँदा सडक तथा हवाई यातायात सेवा प्रभावित भएका छन् । सडकमा सवारी साधन र मानिसको चहलपहल घटेको छ भने बजार क्षेत्रमा पनि ग्राहकको उपस्थिति पातलिएको व्यवसायीहरूले बताए । चिसोका कारण विशेषगरी दैनिक ज्यालादारी गर्ने मजदुर, निर्माण क्षेत्रका कामदार र विपन्न वर्गका परिवार सबैभन्दा बढी मारमा परेका छन् ।
चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि तराईका विभिन्न स्थानीय तहले विद्यालयहरूमा बिदा दिन थालेका छन् । सप्तरीका राजविराज, कञ्चनरूप, डाक्नेश्वरी लगायतका नगरपालिका र विभिन्न गाउँपालिकाहरूले पुस १८ गतेसम्मका लागि पठनपाठन बन्द गरेका छन् । बर्खे र हिउँदे बिदाबाट कट्टा हुने गरी बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि यो निर्णय लिइएको पालिकाहरूले जनाएका छन् ।
निरन्तरको शीतलहर र चिसो स्याँठका कारण बालीनालीमा समेत ठन्डीजन्य संक्रमण देखिन थालेको छ । तोरी, आलु, मुसुरो, चना र तरकारी बालीमा डढुवा जस्ता रोग लाग्न थालेकाले किसानहरू चिन्तित छन् । शीतलहरका कारण बालीनालीमा औषधि छिट्न समेत समस्या भएको र पशुचौपाया तथा पन्छीलाई सुरक्षित राख्न कठिन भएको किसानहरूले बताए ।
चिसो बढेसँगै स्थानीय अस्पतालहरूमा बिरामीको चाप बढेको छ । अस्पतालहरुमा रुघाखोकी, ज्वरो, दम, निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरूको सङ्ख्या बढेको चिकित्सकहरूले जानकारी दिए । इटहरी अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सञ्जयकुमार साहले यो समयमा वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीले विशेष ख्याल गर्नुपर्ने बताए । उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, न्यानो लुगा लगाउन, झोलिलो र ताजा खानेकुरा खान सुझाव दिएका छन् ।
चिसोबाट जोगाउन केही स्थानीय तह र सामाजिक संघसंस्थाहरूले कम्बल तथा न्यानो लुगा वितरण कार्य सुरु गरेका छन् । सर्लाहीको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले विपन्न तथा दलित परिवारलाई नगरपालिकाको बजेटबाट कम्बल वितरण सुरु गरिएको जानकारी दिए । कतिपय ठाउँमा चोक र बजारहरूमा आगो बालेर ताप्ने व्यवस्था मिलाइएको छ । आगामी केही दिनसम्म शीतलहरको प्रभाव रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासन र पालिकाहरूले सबैमा अनुरोध गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पनि चिसोबाट बच्न र बचाउन सर्वसाधरणलाई अपिल गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।