विराटनगर । विराटनगरका गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाएका छन् । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी विराटनगरको आयोजनामा हाटखोलास्थित पार्कमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी यो पर्व मनाइएको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । ल्होको अर्थ वर्ष र सारको अर्थ फेरिनु हुने भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यताका साथ मनाउने गर्दछन् ।

तमु ल्होसार पर्व सूर्यको किरणसँग जोडिएको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछि क्रमश : दिन लम्बिँदै जाने प्राकृतिक प्रक्रियासँगै यो पर्व मनाउने परम्परा रहेको छ । यस अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ ।
ल्होसारको अवसरमा विराटनगरमा विभिन्न पूर्व–कार्यक्रमहरू समेत आयोजना गरिएका थिए । तमु ह्युल छोंज धीं महानगर इकाईका सचिव राजेश गुरुङका अनुसार सोमबार बिहान खुल्ला सडक दौड प्रतियोगिता आयोजना गरिएको थियो भने सोमबार साँझ विराटनगरको मुख्य चोक महेन्द्र चोकमा दीप प्रज्वलन गरी नयाँ वर्षको स्वागत गरिएको थियो ।
मंगलबार हाटखोलामा आयोजित मुख्य समारोहमा गुरुङ समुदायका मानिसहरू आफ्नो परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी भएका थिए । कार्यक्रममा मौलिक कौडा, घाटु लगायतका नाचहरू प्रदर्शन गरिनुका साथै गुरुङ समुदायका विशिष्ट परिकारहरूको स्वाद समेत लिइएको थियो । यो पर्वले विराटनगरको बहुसांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।
तस्बिर : सौजन्य प्रेम देवान







प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।