विराटनगर । केही साताअघि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पीआर’ बाट रजतपटमा डेब्यू गर्ने अभिनेत्री हुन्— बिनिता कार्की । क्रिसमसको दिनदेखि ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’ मार्फत समेत स्ट्रिमिङ भइरहेको यस फिल्ममा अभिनय गर्दै उनले आफूलाई एक आशालाग्दो र सम्भावना बोकेकी अभिनेत्रीका रूपमा प्रस्तुत गरेकी छिन् ।
नेपाली फिल्म क्षेत्रकै कान्छी अभिनेत्रीका रूपमा उदाएकी बिनिताले डेब्यू फिल्ममै सशक्त उपस्थिति जनाउँदै आफू ‘नयाँ अनुहार’ मात्र नभई, अभिनय क्षमता भएकी कलाकार भएको प्रमाणित गरेकी छिन् ।
सोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ मा बिनिताले नेपालबाट अस्ट्रेलिया पुगेकी एक साधारण युवतीको सपना, सङ्घर्ष तथा भावनात्मक उतारचढावलाई अत्यन्त स्वाभाविक रूपमा प्रस्तुत गरेकी छिन् । उनको अभिनयमा देखिने संवेदनशीलता, संवाद शैली तथा आँखाबाट भाव व्यक्त गर्ने कला दर्शकका लागि विशेष बनेको छ । यही कारण, फिल्म रिलिजसँगै उनको अभिनयको खुलेर प्रशंसा भइरहेको छ ।
सामाजिक सञ्जालमार्फत अडिसन दिएर फिल्ममा प्रवेश गरेकी बिनिताको यात्रा आफैँमा प्रेरणादायी छ । अस्ट्रेलियामा रहेर पनि नेपाली फिल्मप्रतिको मोह र डेब्यू फिल्ममै मुख्य भूमिका पाउनु उनको लगनशीलता र आत्मविश्वासको उदाहरण हो ।
आज बिनितालाई नेपाली फिल्म क्षेत्रमा भविष्यकी सम्भावनायुक्त अभिनेत्रीका रूपमा हेर्न थालिएको छ । ‘पीआर’ बाट प्राप्त सकारात्मक प्रतिक्रिया उनको आगामी यात्राको बलियो आधार बन्ने अपेक्षा गरिएको छ । ५ फिट ७ इन्च उचाइ भएकी बिनिताले निरन्तर मिहिनेत र सही अवसर पाए नेपाली फिल्म उद्योगमा आफ्नै पहिचान स्थापित गर्ने विश्वास धेरैले गरेका छन् ।
प्रस्तुति : तेजन खड्का




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।