लोड हुँदैछ...

मेनु

बालेन र रास्वपाबीच एकता, बालेन शाह भावी प्रधानमन्त्रीको उम्मेदवार

बालेन र रास्वपाबीच एकता, बालेन शाह भावी प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौँ । नेपालको राजनीतिमा वैकल्पिक शक्तिको रुपमा उदाएका दुई प्रमुख पक्षहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच औपचारिक रुपमा ‘बृहत् एकता’ भएको छ। आइतबार भएको ७ बुँदे सहमतिसँगै नेपाली राजनीतिमा नयाँ समीकरण बनेको हो। सहमति अनुसार मेयर बालेन शाह अब रास्वपाको तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता र पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने तय भएको छ।

रास्वपा सभापति रवि लामिछाने र बालेन शाहद्वारा हस्ताक्षरित सहमतिपत्र अनुसार पार्टीको नेतृत्व तहमा महत्वपूर्ण कार्यविभाजन गरिएको छ। जसअनुसार रवि लामिछाने पार्टीको केन्द्रीय सभापतिमा यथावत् रहनेछन् भने बालेन शाहले संसदीय मोर्चाको नेतृत्व सम्हाल्दै देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को रुपमा आफूलाई प्रस्तुत गर्ने तय भएको हो। एकता पश्चात् पनि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने र चुनाव चिन्ह ‘घण्टी’ तथा झण्डा साविककै रहने सहमति भएको छ।

दुई पक्षबीच भएको समझदारीमा १० वर्षभित्र नेपाललाई मध्यमआय भएको मुलुक बनाउने महत्वाकांक्षी आर्थिक(सामाजिक मार्गचित्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सहमतिपत्रमा भ्रष्टाचार र कुशासन विरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने तथा सहिद र घाइते परिवारका मागलाई सम्बोधन गर्ने बुँदा समेत समेटिएको छ।

पार्टीको सांगठनिक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समावेश गर्ने नीति लिइएको छ। यसैबीच, दुवै नेताले रास्वपाको सिद्धान्त र चुनाव चिन्हमा गोलबद्ध हुन अन्य परिवर्तनकामी र वैकल्पिक राजनीतिक शक्तिहरूलाई पनि आह्वान गरेका छन्। यस एकताले आगामी निर्वाचनको राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।