जनकपुर । तराई–मधेशमा केही दिनयता बढ्दो शीतलहर र अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बनेपछि नेपाली सेनाले विपन्न नागरिक र सर्वसाधारणको राहतका लागि दाउरा वितरण सुरु गरेको छ ।
बाक्लो हुस्सुसँगै चलेको चिसो स्याँठले सर्वसाधारणलाई घर बाहिर निस्कन समेत मुस्किल परिरहेका बेला सेनाले विभिन्न सार्वजनिक स्थलमा आगो बाल्ने व्यवस्था मिलाएको हो ।
शनिबार सप्तरीको राजविराजमा सेनाको बरख गणले स्थानीय प्रशासन र वन कार्यालयसँगको समन्वयमा दाउरा वितरण गरेको छ । सेनानी भरत गिरीको कमान्डमा खटिएको टोलीले राजविराज नगरपालिकाका विभिन्न वडा, गजेन्द्रनारायण सिंह अस्पताल परिसर, छिन्नमस्ता अस्पताल चोक, बसपार्क, र विभिन्न मुख्य चोकहरूमा दाउरा उपलब्ध गराएको हो ।
बरख गणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दका अनुसार अत्यधिक चिसोबाट प्रभावित करिब दुई सय सर्वसाधारणलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले आगो ताप्ने व्यवस्था मिलाइएको हो । सेनाको यस कार्यले अस्पतालमा रहेका बिरामीका कुरुवा, यात्री र विपन्न वर्गलाई ठुलो राहत पुगेको स्थानीयले बताएका छन् ।
यता सर्लाहीमा पनि सशस्त्र प्रहरीले आफ्नै सक्रियतामा केही बस्तीहरूमा मुढा र ठुटा जम्मा पारेर आगो ताप्ने व्यवस्था मिलाएको छ । सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले चिसोले कठ्याङ्ग्रिएका बस्तीमा पुगेर सुरक्षाकर्मीले सहयोग गरिरहेको जानकारी दिए ।
मधेशमा विगत १० दिनदेखि लागेको बाक्लो हुस्सु र शीतलहरले खासगरी डोम, मुसहर र दलित बस्तीको जनजीवन अत्यन्तै कष्टकर बनाएको छ । हरिपुर नगरपालिका–२ की लक्ष्मी पासवानका अनुसार मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारहरूलाई चिसोका कारण काममा जान नपाउँदा बिहान–बेलुकाको छाक टार्न समेत धौ–धौ परेको छ ।
सर्लाहीमा जिल्ला विपत् व्यवस्थापन समितिले दाउरा र कम्बल वितरण गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ देखिएको छ । डिभिजन वन कार्यालय सर्लाहीले आफूसँग दाउरा मौज्दात नरहेको र कानुनी प्रक्रियाका कारण तत्काल वितरण गर्न नसकिने जनाएको छ ।
चिसोका कारण मानिस मात्र नभई कृषि क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ । हरिवनका किसान गज्रसिंह दोङका अनुसार लगातारको शीतलहरले गोलभेँडा, तोरी, आलु र तरकारी बालीमा क्षति पुग्न थालेको छ ।
अत्यधिक चिसो बढेपछि शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीले विद्यालयहरूमा जाडो बिदा दिन आग्रह गरे पनि हालसम्म स्थानीय तहहरूले यसबारे निर्णय गरिसकेका छैनन्, जसका कारण साना बालबालिकाहरू कठ्याङ्ग्रिँदै विद्यालय जान बाध्य छन् । चिसो अझै बढ्ने देखिएकाले स्थानीयले थप राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।