सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका दुई पोथी गैँडा ‘पुष्पा’ र ‘अञ्जली’ का लागि यसै आर्थिक वर्षभित्र भाले गैँडा ल्याइने भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट दुई वर्षअघि ल्याइएका यी पोथी गैँडाहरू प्रजननका लागि योग्य हुँदै गएपछि आरक्षमै वंश विस्तार गर्ने उद्देश्यले भाले गैँडा ल्याउन लागिएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेशका प्रमुख वीरेन्द्र गौतमका अनुसार पुष्पा (साढे ५ वर्ष) र अञ्जली (साढे ४ वर्ष) अहिले शारीरिक रूपमा परिपक्व हुँदै गएका छन्। सामान्यतया पोथी गैँडा ५ देखि ६ वर्षको उमेरमा प्रजननका लागि योग्य मानिन्छन्। आरक्षका प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले उनीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको र पशु चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा रहेको जानकारी दिनुभयो।
भाले गैँडालाई सुरक्षित रूपमा राख्नका लागि आरक्षको पथरी सेक्टरमा नयाँ ‘इन्क्लोजर’ (खोर) निर्माणको काम सुरु गरिएको छ। यसअघि २०८० चैतमा ‘मेघौली’ नामक भाले गैँडा ल्याइएको भए पनि बिरामी परेपछि तीन दिनमै चितवन फिर्ता पठाइएको थियो। सोही अनुभवलाई ध्यानमा राख्दै यस पटक थप तयारीका साथ भाले गैँडा ल्याउन लागिएको हो।
अर्ना र चराचुरुङ्गीका लागि विश्वप्रख्यात कोशीटप्पुमा गैँडाको आगमनले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ। ‘गैँडा हेर्नकै लागि चितवन पुग्नुपर्ने बाध्यता हटेको छ । अहिले धेरै पर्यटक पथरी क्षेत्रमा गैँडा हेर्न आउने गरेका छन्,’ प्रमुख गौतमले भने ।
नेपालमा हाल ७५२ वटा एकसिङे गैँडा रहेका छन्, जुन मुख्यतया चितवन, बर्दिया र शुक्लाफाँटामा केन्द्रित छन्। कोशीटप्पुको वातावरण पनि गैँडाका लागि अनुकूल मानिन्छ। दुर्लभ एकसिङे गैँडाको औसत आयु ४० देखि ७० वर्षसम्म हुन्छ भने पोथीले १८ महिनाको गर्भधारणपछि बच्चा जन्माउँछन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।