विराटनगर । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहिमतसँग हुने भनिएको एकतालाई अस्वीकार गरेको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहितम कुलमान पनि रास्वपामा समाहित हुने भनेर गरिएको प्रचार पार्टीले अस्वीकार गरेको हो ।
एकीकृत पार्टीको सभापति रवि लामिछाने हुने, पार्टीको नाम र चुनाबहिन्ह रास्वपाकै हुने तथा आगामी निर्वाचनपछि प्रधानमन्त्री बालेन शाह बनाउने सहमति भएको चर्चा थियो । तर, पार्टीको अस्तित्व, नेतृत्व र हिस्सेदारीबारे ठोस सहमति नआएको भन्दै उज्यालो नेपालले सो प्रस्ताव अस्वीकार गरेको हो ।
शनिबार कुलमानकै उपस्थितिमा त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले आफ्नो अस्तित्व समाप्त हुनेगरी अन्य पार्टीमा बिलय नहुने निर्णय गरेको हो । बैठकमा नयाँ राजनीतिक शक्तिबीच संवाद र सहकार्य भने जारी राख्ने निष्कर्ष निकालिएको छ ।
बैठकमा घिसिङले रास्वपाको उद्देश्यले कुलमान र बालेन पनि आउँदैछ भनेर माहोल बनाउने, पार्टीमा जनमत बढाउने मात्र रहेको ब्रिफिङ गरेको नेताहरुले बताएका छन् । बालेनले रविसँग ५ वर्ष प्रधानमन्त्रीको ग्यारेन्टी मागेकोम त्यो रास्वपाबाट स्वीकार नभएको जानकारी उनले दिएका थिए । बैठकमा अधिकांश नेताहरूले अस्तित्व स्वीकार नभए एक्लै चुनावमा जानुपर्ने मत राखेको बताइएको छ ।
पार्टीका केन्द्रीय सदस्य डा.अभिषेक सिंहका अनुसार रास्वपा र बालेनसँग मिलेर जाने विषयमा छलफल भएपनि सम्मानजनक हैसियत र सहअस्तित्व सुनिश्चित नभएसम्म एकता हुने नहुने निष्कर्षमा बैठक पुगेको छ । उज्यालो नेपालले भने आफ्नो नेतृत्वमा वैकल्पिक र अग्रगामी शक्तिहरूलाई मिलेर चुनावमा जान आह्वान गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै संरक्षक कुलमान घिसिङले जनताको चाहनाविपरीत र कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने स्पष्ट पारेका थिए । सबैको अस्तित्व स्वीकार गर्दै, समान हैसियतमा गरिएको एकतामात्र दीगो हुने उनको भनाइ थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने अवसरका रूपमा लिन घिसिङले आग्रह गरेका छन् । उनले ज्यालो नेपाल पार्टीले देशभर संगठन विस्तार भइरहेको उल्लेख गर्दै आत्मसमर्पण गरेर एकता नहुने बताएका छन् ।
रवि लामिछाने र बालेनप्रति लक्षित गर्दै बैठकले उज्यालो नेपाल पार्टीको नाममै चुनाव लड्न आए पार्टी सभापति र प्रधानमन्त्री पनि छोड्न तयार रहेको एक नेताले बताएका छन् । ‘उज्यालो नेपाल पार्टीमै आएर चुनाव लड्ने हो भने हामी सभापति र प्रधानमन्त्री पनि छोड्न तयार छौँ,’ उनले भने ।
रास्वपातिर संकेत गर्दै बैठकमा कुलमानले आफूहरुसँग पार्टीगत संरचना नभएपनि जनताको विश्वास भएको उल्लेख गरेका थिए । ‘उहाँहरूसँग संरचना होला, सबैचिज होला । तर, हामीसँग जनताको विश्वास होला त्यही सबैभन्दा ठूलो करा हो,’ उनले भने, ‘जनताको विश्वास भएपछि सबैकुरा अगाडि बढ्छ ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।