विराटनगर । निर्वाचन नजिकिँदै गर्दा दलहरूले कार्यकर्ता परिचालन थालेका छन् ।
शनिबार कोशी प्रदेशमा दुई दलका कार्यक्रम तय भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाको बिर्तामोडमा र जनता समाजवादी पार्टी (जसपा) नेपालले मोरङको विराटनगरमा प्रदर्शन गर्दैछन् ।
राप्रपाले बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ । राजा, राजनीतिक दल र जेनजीबीच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाले बिर्तामोडमा सभा आयोजना गर्न लागेको हो । अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला हुने सा हामा लिङ्देन, वरिष्ठ नेता, उपाध्यक्षद्वय बुद्धिमान तामाङ र विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ खुश्बु ओलीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभाअन्तर्गत विराटनगरमा कार्यक्रम गर्दैछ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था लगायत २८ बुँदे माग र राष्ट्रिय मुद्दा उठाएर प्रदेशस्तरीय विरोध सभा सुरु गरेको पार्टीले जनाएको छ ।
जसपा नेपालले पुस १४ गते मधेश प्रदेशको जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा सभा गर्ने तय गरेको छ । सभालाई पार्टी अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने तालिका रहेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।