विराटनगर । ‘लेटाङ रन’ को तेस्रो संस्करण आउँदो माघ १ गते आयोजना हुने भएको छ। आयोजक संस्था लेटाङ रनले मंगलबार पत्रकार सम्मेलन गरी करिब ८ सय धावकको सहभागितामा प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो।
लेटाङ रनका अध्यक्ष किरण राईका अनुसार यस वर्षको दौड गत वर्षको भन्दा अझ बृहत्तर र व्यापक सहभागितामा सञ्चालन गर्न लागिएको छ। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरूको समेत सहभागिता रहने उनले बताए।
प्रतियोगितामा महिला र पुरुषतर्फ गरी ४ विधामा ८ वटा प्रतिस्पर्धा सञ्चालन हुनेछन्। सबैभन्दा ठूलो पुरस्कार राशिसहितको खुला १० किलोमिटर म्याराथनमा देश–विदेशका खेलाडी सहभागी हुनेछन् । यस विधामा प्रथम हुने महिला र पुरुष दुवैले मेडलसहित ३० हजार रुपैयाँ, दोस्रोले १५ हजार, तेस्रोले ८ हजार र सान्त्वना दुई जनाले जनही १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
लेटाङ नगरपालिका भित्रका धावकहरूका लागि ‘हाम्रो लेटाङ’ विधा राखिएको छ, जसमा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ। यस विधामा प्रथम हुनेले मेडलसहित ७ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार र सान्त्वना दुई जनाले जनही १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै, भेट्रान महिला र पुरुषतर्फको म्याराथनमा प्रथम हुनेले मेडलसहित १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ४ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। कक्षा ८ भन्दा तल अध्ययनरत विद्यार्थीहरूका लागि महिला र पुरुष दुवैतर्फ छुट्टै प्रतिस्पर्धा राखिएको छ, जसमा प्रथम हुनेले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
खुला, हाम्रो लेटाङ तथा भेट्रान महिला–पुरुष विधाका लागि ४ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने कक्षा ८ भन्दा तलका प्रतिस्पर्धीका लागि ३ सय ५० रुपैयाँ शुल्क लाग्नेछ। प्रतियोगिता माघ १ गते बिहान ८ बजे लेटाङ बजारको बीपी चोकबाट सुरु भई निर्धारित दूरी पूरा गरेर पुनः सोही स्थानमा आएर सम्पन्न हुनेछ।
प्रतियोगिता सञ्चालनमा लेटाङ नगरपालिका, वडा कार्यालयहरू, सामुदायिक वन, हाल युकेमा रहेका स्थानीयवासी सन्तोष राईलगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोग रहेको आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
लेटाङ नगरपालिकाको पहिचान प्रवर्द्धन गर्नुका साथै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गरी लागुऔषध दुर्व्यसनबाट टाढा राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लेटाङ रनका सदस्य तथा कमलपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल श्रेष्ठले बताए। लेटाङ रनकी सचिव मनकुमारी राईले यस वर्ष महिला र पुरुष दुवैतर्फ पुरस्कार राशि समान राखिएकाले महिला धावकहरूलाई उत्साहका साथ सहभागी हुन आग्रह गरेकी छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।