विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै थापाले उक्त घटना नेपालको इतिहासमै अकल्पनीय र दुःखद् भएको उल्लेख गरे ।
महामन्त्री थापाले भदौ २३ लाई ‘कालो दिन’को रूपमा व्याख्या गर्दै सो दिन देशले धेरै नौजवान गुमाउनुपरेको बताए । “त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ,” उनले भने, “सडकमा आक्रोश व्यक्त हुनु स्वाभाविक हो । तर, त्यसको राजनीतिक र नैतिक जिम्मेवारी सरकारले लिनैपर्छ ।”
थापाले घटनापछि तत्कालीन सरकारले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने भन्दै सार्वजनिक पदमा बसेकाहरूको राजनीतिक नैतिकता (पोलिटिकल मोरालिटी) अत्यन्तै महत्वपूर्ण हुने बताए । “नैतिक जिम्मेवारी लिँदा कोही सानो हुँदैन,” उनले भने, “ठूलो पदमा बस्नेले झन ठूलो जिम्मेवारी लिनुपर्छ ।”
महामन्त्री थापाले भदौ २३ र २४ गते जेन–जी युवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलन गरेको स्मरण गर्दै त्यसलाई हल्का रूपमा लिन नहुने धारणा राखे । उनले घटनापछि २३ गतेकै बेलुका गृहमन्त्रीलाई राजीनामा दिन लगाइएको उल्लेख गर्दै, घटनाको समग्र जिम्मेवारी भने प्रधानमन्त्रीसहित तत्कालीन सरकारले लिनुपर्ने स्पष्ट पारे ।
“घटना कसरी भयो भन्ने विषयमा छानबिन हुँदै जाला,” उनले भने, “तर सरकारमा बस्नेहरूले यसको जिम्मेवारी लिनुपर्छ । म भए लिन्थेँ । अहिले जो पदमा छन्, प्रधानमन्त्रीले नै जिम्मेवारी लिनुपर्छ ।”
महामन्त्री थापाको भनाइले भदौ २३ को घटनाप्रति सरकारको उत्तरदायित्व र राजनीतिक नैतिकताको बहसलाई पुनः अघि ल्याएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।