भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ स्थित पाँचधारेमा धार्मिक पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै काठमाडौँको बौद्धनाथ स्तूपकै शैलीमा बौद्धस्तूप निर्माण गरिएको छ ।
धार्मिक तथा पर्यटकीय गतिविधि बढाउने उद्देश्यसहित निर्माण गरिएको स्तूपले पाँचधारे क्षेत्रलाई नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ ।
सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त २७ लाख रुपैयाँको लागतमा स्तूप निर्माण गरिएको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नवराज माङ्पाहाङ्गले जानकारी दिए । उनका अनुसार काठमाडौँस्थित बौद्धनाथ स्तूपको शैली र संरचनालाई आधार मानेर पाँचधारेमा बौद्धस्तूप निर्माण गरिएको हो ।
वडाध्यक्ष माङ्पाहाङ्गले खोलुखुम्बु क्षेत्रबाट दक्ष कालीगढ झिकाएर निर्माण कार्य सम्पन्न गरिएको बताए । उनका अनुसार यस क्षेत्रका प्राकृतिक तथा धार्मिक गन्तव्यको प्रवर्द्धन गर्दै बौद्ध धर्मावलम्बी समुदायलाई लक्षित गरी स्तूप निर्माण गरिएको हो ।
‘धार्मिक र प्राकृतिक सौन्दर्यका कारण यहाँ पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना छ’ वडाध्यक्ष माङ्पाहाङ्गले भने, ‘पाँचधारे प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको क्षेत्र हो । स्तूप निर्माणले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएका छौँ ।’ उनका अनुसार स्तूपसम्म पुग्न सहज होस् भनेर सिँढी निर्माण गरी पदयात्राका लागि पनि सुविधा मिलाइएको छ ।
निर्माण सम्पन्न स्तूप २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको रहेको उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार राईले जानकारी दिए । वडाको पहलमा निर्माण भइरहेका यस्ता भौतिक संरचनाले पाँचधारे क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने स्थानीयको भनाइ छ ।
स्तूप निर्माणसँगै पाँचधारे क्षेत्रमा धार्मिक पर्यटकको आगमन बढ्ने र समग्र भोजपुर जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।