विराटनगर । कोशी प्रदेशको प्रतिष्ठित शैक्षिक संस्था अरनिको कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १२ की स्मृति आचार्य प्रथमभएकी छन् ।
‘कृत्रिम बुद्धिमता (एआई) मानव नियन्त्रणमा रहन्छ कि मानवलाई नियन्त्रण गर्छ ?’ शिर्षकमा आयोजित प्रतियोगितामा डेढ दर्जन प्रतिस्पर्धीलाई पछि पार्दैै विपक्षमा उत्कृष्ट विचार राखेर स्मृति प्रथम भएकी हुन् ।
प्रतियोगितामा समीक्षा पौडेल द्वितीय र विन्जु थापा तृतीय हुँदा मनोस साह चौथो भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र पत्रकारसमेत रहेका महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक विजयहरि खतिवडा सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।
कलेजका सञ्चालक भरतराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य राजेश कार्की, निर्णायकद्वय नवोदित र खतिवडा, कलेजका अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराईलगायतले विजयी विद्यार्थीलाई अविर र खादा लगाएर ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
निर्णायक खतिवडा र नवोदितले पठनपाठनसँगै अतिरिक्तक्रियाकलापले विद्यार्थीको क्षमता विकासमा बल पुग्ने विचार राखे । अरनिको कलेजले रुचीअनुसारका कार्यक्रम आयोजना गरेर विद्यार्थीलाई महत्वपूर्ण मञ्चउपलब्ध गराउँदै आएकोमा उनीहरुले खुसी व्यक्त गरेका थिए ।
कलेजले बेलाबेला कविता, वक्तृत्व, वादविवाद, हाजिरीजवाफ, चित्रकला, गायन, नृत्य प्रतियोगितासमेत आयोजना गर्दै आएको अतिरिक्त क्रियालापका संयोजक भट्टराईले जानकारी दिए । उनले प्याब्सन, हिसानलगायत विभिन्न संघसंस्थाले आयोजना गर्ने खेलकुदसँगै अन्य प्रतियोगितामा समेत कलेजका विद्यार्थीहरु पुरस्कृत हुँदै आएको बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।