जनकपुर । तराई मधेशमा दुई दिनदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन प्रभावित भएको छ। तुसारो र चिसोले मानिसहरू घरबाहिर निस्कन नसक्दा सदरमुकामहरू सुनसान बनेका छन्। चिसोको मारमा विशेष गरी बालबालिका, वृद्धवृद्धा र गरिब परेका छन्।
रौतहटको गौर, गरुडा र गढीमाई क्षेत्रमा ज्यालादारी गर्ने मजदुरहरू काममा जान पाएका छैनन्। चिसोले सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति घटेको पर्यटन विकास कार्यालयका प्रमुख राजेश काफ्लेले बताए। जाडो बढेपछि चोकचोकमा बाल्नका लागि डिभिजन वन कार्यालयसँग दाउरा माग गरिएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले जानकारी दिए।
सर्लाहीमा शीतलहर र कुहिरोका कारण आलु तथा तोरी खेतीमा क्षति पुग्ने भएपछि किसान चिन्तित छन्। न्यानो लुगा नभएका मुसहर र दलित बस्तीमा चिसोले ज्यान जोगाउनै गाह्रो परेको राष्ट्रिय मुसहर सङ्घका अध्यक्ष ऋतुराज ऋषिले बताए। चिसोकै कारण कतिपय मानिसको ज्यान समेत जाने गरेको छ। स्वास्थ्यकर्मीले चिसोबाट बच्न तातो झोलिलो खानेकुरा खान र बाहिर नहिँड्न सुझाव दिएका छन्। बाक्लो कुहिरोले सडकमा सवारीसाधन चलाउन समस्या भएको छ भने बजारमा सर्वसाधारणको उपस्थिति न्यून छ।
बाक्लो हुस्सुका कारण बाराको सिमरा विमानस्थलबाट हुने सबै उडान शनिबार रद्द भएका छन्। दृश्यता (भिजिबिलिटी) कम भएकाले उडान र अवतरण सम्भव नभएको सिमराका ट्राफिक एयर कन्ट्रोलर सङ्गम श्रेष्ठले जानकारी दिए। उडानका लागि कम्तीमा २४०० मिटर दृश्यता चाहिने भए पनि शनिबार बिहानैदेखि दृश्यता १००० मिटर मात्र थियो। उडान अवरुद्ध हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् भने कतिपय यात्रु स्थलमार्ग प्रयोग गर्न बाध्य भएका छन्।
सप्तरीको दुई वटा पालिकाका दुई सय जना अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट बच्न कम्बल वितरण गरिएको छ। सुरुङ्गा नगरपालिकाका ५० र खडक नगरपालिकाका १५० जनालाई कम्बल दिइएको हो। सप्तरी अपाङ्ग सङ्घले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा स्थानीय तहको सहयोगमा यो राहत बाँडेको सङ्घका अध्यक्ष वीरेन्द्रकुमार चौधरीले बताए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।