लोड हुँदैछ...

मेनु

एभरेष्टमा कारखाना प्रदर्शनी, बालबालिकाको परियोजना देखेर अभिभावक दङ्ग

एभरेष्टमा कारखाना प्रदर्शनी, बालबालिकाको परियोजना देखेर अभिभावक दङ्ग

विराटनगर । आफ्ना स–साना नानीबाबुले बनाएका परियोजना कार्य हेर्ने र तिनले परियोजनाबारे राखेका तर्क सुन्ने अधिकांश अभिभावक दङ्ग परेका छन् ।

विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डेरी स्कुलमा शनिबार आयोजित कारखाना प्रदर्शनीमा सहभागी अभिभावकहरू विद्यार्थीको सिर्जनशीलता र प्रस्तुतीकरण क्षमताबाट प्रभावित देखिएका हुन् ।

कक्षा ६ देखि ९ सम्मका करिब ८ सय विद्यार्थीले समूहगत रूपमा पाठ्यक्रममा समावेश विषयवस्तुलाई व्यवहारिक रूपमा विभिन्न उपकरण र नमुनामार्फत प्रस्तुत गरेका थिए । प्रदर्शनीमा सयौं परियोजना कार्य राखिएको थियो । विद्यार्थीहरूले आफ्ना आविष्कार कसरी काम गर्छन्, तिनको उपयोगिता के हो र ती आविष्कारले मानव जीवनलाई कसरी सहज बनाउँछन् भन्ने विषयमा अभिभावकलाई स्पष्ट रूपमा बुझाएका थिए ।

कार्यक्रममा सहभागी अभिभावक तथा पत्रकार ध्रुव भट्टराईले यस्ता गतिविधिले बालबालिकाको सिकाइ क्षमतालाई प्रभावकारी बनाउने बताए । उनले आफ्ना छोरीहरूको परियोजना कार्य हेर्दा आफूलाई गर्व महसुस भएको प्रतिक्रिया दिए ।

अर्का अभिभावक राजेश गिरीले बालबालिकामा असाध्यै क्षमता रहेकाले उचित वातावरण र अवसर प्रदान गर्न सके धेरै नयाँ कुरा गर्न सक्ने अनुभूति भएको बताए । सबै विद्यालयले यस्ता व्यवहारिक सिकाइका कार्यक्रम सञ्चालन गर्न सके शैक्षिक स्तर उल्लेख्य रूपमा माथि उठ्ने उनको विश्वास छ ।

विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने महत्वपूर्ण ‘प्ल्याटफर्म’ का रूपमा कारखाना प्रदर्शनी आयोजना गरिएको हो । यसले विद्यार्थीको बुझाइ, सिर्जनशीलता र प्रस्तुतीकरण क्षमतामा सकारात्मक प्रभाव पार्ने उनले बताए ।

एभरेष्ट सेकेण्डेरी स्कुलले बालबालिकामा अन्वेषण र आविष्कारप्रतिको चासो बढाउने उद्देश्यले कारखानासँग सहकार्य गर्दै आएको जनाएको छ । सोही सहकार्यअन्तर्गत यस वर्ष पनि कारखाना प्रदर्शनी आयोजना गरिएको हो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले हरेक वर्ष यस्ता सिर्जनात्मक गतिविधि गर्दै आएको स्मरण गराउँदै यस प्रकारका कार्यक्रमले विद्यार्थीमा समूहमा काम गर्ने बानी, आत्मविश्वासको विकास र अनुसन्धान तथा अन्वेषणप्रतिको रुचि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।