लोड हुँदैछ...

मेनु

इटहरीमा प्रथम अन्तर्राष्ट्रिय शैक्षिक तथा प्राज्ञिक सम्मेलन

इटहरीमा प्रथम अन्तर्राष्ट्रिय शैक्षिक तथा प्राज्ञिक सम्मेलन

इटहरी । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा प्रथम जेएमसी अन्तर्राष्ट्रिय शैक्षिक तथा प्राज्ञिक सम्मेलन सुरु भएको छ ।

उच्च शिक्षामा नवीनता, अनुसन्धान र दिगोपनलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनको शनिबार बिहान नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले उद्घाटन गरे ।

डा.रिजालले उच्च शिक्षा क्षेत्रलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउन यस्ता सम्मेलनहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अनुसन्धान, नवप्रवर्तन र प्राज्ञिक बहसले मात्रै शिक्षाको गुणस्तर उकास्न सकिने उल्लेख गर्दै शैक्षिक संस्थाहरूलाई ज्ञान उत्पादनको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

सम्मेलनमा ११२ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुनेछन् । जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीका अनुसार ‘उच्च शिक्षामा नवीनता, अनुसन्धान र दिगोपन’ मुख्य विषयवस्तु बनाएर देश–विदेशका बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरूले कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

इटहरी–५ स्थित क्याम्पस प्राङ्गणमा सुरु भएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ । सम्मेलनमा प्रमुख वक्ताका रूपमा रहेका दुई विदेशी र दुई नेपाली प्रोफेसरहरूले सम्बोधन गरेका छन् ।

प्रमुख वक्ताहरूमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रोफेसर डा. महानन्द चालिसे, त्रिवि सेनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्की, भारतको बाबा मस्त नाथ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. एच.एल. बर्मा तथा कोलम्बिया विश्वविद्यालय टिचर्स कलेजका डा. प्रेम फ्याक रहेका छन् । उनीहरूले उच्च शिक्षाको वर्तमान अवस्था, अनुसन्धानको आवश्यकता, अन्तर्राष्ट्रिय अभ्यास र दिगो शैक्षिक विकासका विषयमा धारणा राखेका छन् ।

आयोजकका अनुसार सम्मेलनमा १५ वटा प्लेनरी स्पिच, ४ वटा फिचर्ड स्पिच र एक प्यानल डिस्कसन समावेश छन् । यसका साथै सम्मेलनलाई थप आकर्षक र बहुआयामिक बनाउन कविता प्रस्तुति, विचार गोष्ठी, अन्तरक्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला लगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका विश्वविद्यालय, क्याम्पस तथा शैक्षिक संस्थाबाट आएका प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता र शैक्षिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको छ । दुई दिने सम्मेलनले पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक बहस, अनुसन्धान र प्राज्ञिक संवादको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण सहयोग पुग्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।