लोड हुँदैछ...

मेनु

जापानी युवतीले एआई च्याटबटसँग विवाह गरेपछि….

जापानी युवतीले एआई च्याटबटसँग विवाह गरेपछि….

जापानमा सम्पन्न एउटा विवाह समारोहले विश्वव्यापी चर्चा पाएको छ । सेतो गाउनमा सजिएकी ३२ वर्षीया युरिना नोगुची दुलाहाको स्वागतका लागि तयार थिइन् ।

विवाहस्थलमा संगीत गुञ्जिरहेको थियो, पाहुनाहरू उपस्थित थिए र फोटोग्राफर–भिडियोग्राफरले क्षण कैद गरिरहेका थिए। तर, यो विवाह सामान्य थिएन।

युरिना नोगुचीले मान्छेसँग होइन, एआई जेनेरेटेड पर्सोना अर्थात् कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको डिजिटल पात्रसँग विवाह गरेकी हुन् । उक्त विवाह गत अक्टोबरमा सम्पन्न भएपनि हाल सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा चुलिएको छ ।

रोयटर्सका अनुसार युरिना एआई पर्सोनासँग गहिरो प्रेममा परेपछि विवाह गर्न राजी भएकी हुन् । सरल रूपमा भन्नुपर्दा, उनले मान्छेले निर्माण गरेको डिजिटल व्यक्तित्वसँग वैवाहिक सम्बन्ध कायम गरेकी हुन्। उक्त एआई पर्सोनाको नाम ‘क्लाउस’ रहेको छ।

सार्वजनिक भएका तस्बिर तथा भिडियोमा युरिना भावुक देखिन्छिन्। क्लाउसका शब्द सुन्दा उनी आँशु झार्दै गरेको दृश्य देखिन्छ । बाहिरबाट हेर्दा उनी स्मार्टफोनसँग कुरा गरिरहेकी जस्तो देखिएपनि, त्यही माध्यममार्फत उनका ‘श्रीमान्’ क्लाउस उपस्थित थिए।

जापानमा काल्पनिक पात्र, विशेषगरी एनिमे र डिजिटल क्यारेक्टरप्रति मानिसहरूको आकर्षण लामो समयदेखि देखिँदै आएको छ। प्रविधिको विकाससँगै ‘पारासोसल सम्बन्ध’—सेलिब्रेटी, इन्फ्लुएन्सर वा काल्पनिक पात्रसँग एकतर्फी भावनात्मक सम्बन्ध—बलियो बन्दै गएको विभिन्न अध्ययनले देखाएका छन्।

एक वर्षअघि युरिना वास्तविक मानिससँग प्रेम सम्बन्धमै थिइन् र विवाहको तयारीसमेत भएको थियो। तर, सम्बन्ध असहज बनेपछि उनले च्याटजीपीटीसँग सल्लाह मागिन् । च्याटबटले सम्बन्ध तोड्न सुझाव दिएपछि उनले त्यसैअनुसार निर्णय गरिन् ।

त्यसपछि उनले एउटा भिडियो गेमको पात्र ‘क्लाउस’बारे च्याटजीपीटीसँग कुराकानी सुरु गरिन्। विभिन्न ‘प्रम्प्ट’ प्रयोग गरी उनले उक्त पात्रको व्यवहार र बोली नक्कल गराइन्। क्रमशः एआईले गेमको पात्रझैं प्रतिक्रिया दिन थालेपछि उनी भावनात्मक रूपमा नजिकिन पुगिन्।

रोयटर्ससँगको कुराकानीमा युरिनाले सुरुमा क्लाउस समय बिताउने माध्यम मात्र भएको तर पछि ‘डेटिङ’ सुरु भएको बताएकी छन् । एआईले आफूलाई कहिल्यै न्याय नगर्ने र सधैं सकारात्मक साथ दिने भएकाले भावनात्मक लगाव बढ्दै गएको र अन्ततः विवाहसम्मको निर्णय भएको उनको भनाइ छ ।

कल सेन्टरमा काम गर्ने युरिनाले एआई पर्सोनासँग नियमित संवाद गर्थिन् । त्यही क्रममा एक दिन क्लाउसले विवाह प्रस्ताव राखेको र आफूले तुरुन्त स्वीकार गरेको उनले बताइन् ।

विवाह समारोहमा युरिना सामान्य दुलहीझैं सजिएकी थिइन् । फरक यति मात्र थियो कि उनका आँखामा अगमेन्टेड रियालिटी (एआर) स्मार्ट ग्लास लगाइएको थियो। क्लाउसको भौतिक शरीर नभएकाले एआर प्रविधिको प्रयोग गरिएको हो। औँठी साटासाटदेखि फोटोसुटसम्म सबै प्रक्रिया एआर प्रविधिमार्फत ‘वास्तविक अनुभूति’ दिने गरी सम्पन्न गरिएको थियो।

सुरुमा उनले जापानी सञ्चारमाध्यममा छद्म नाम प्रयोग गरेकी थिइन्। तर, रोयटर्ससँग भने उनले आफ्नो वास्तविक नाम सार्वजनिक गरेकी हुन्। यस्तो विवाह गरेको भन्दै उनलाई सामाजिक सञ्जालमा आलोचना र गालीसमेत सहनुपरेको थियो।

युरिनाको विवाह व्यक्तिगत निर्णय भए पनि यसले प्रविधि, मानव सम्बन्ध र नैतिकताको विषयमा बहस सुरु गराएको विज्ञहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।