लोड हुँदैछ...

मेनु

जेमिनिड उल्का वर्षा र डिसेम्बरको आकाश : एक खगोलीय अनुभव

जेमिनिड उल्का वर्षा र डिसेम्बरको आकाश : एक खगोलीय अनुभव

जाडोयामको यो महिनाको रातले हामीलाई ग्रह, तारा, नक्षत्र र आकाशमा फैलिएका अन्य धेरै असाधारण खगोलीय पिण्डहरूको अवलोकन र चिन्तन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ।

बिहानीपख सूर्योदय हुनुभन्दा ठीक अगाडि दक्षिणी आकाशमा बुध ग्रह (Mercury) लाई देख्न सकिन्छ। यो ग्रह अहिले तुला (Scales) र वृश्चिक (Scorpius) राशिका ताराहरूसँग रमाइलो गरिरहेको भान हुन्छ। अर्कोतर्फ, रोमान्टिक ग्रह शुक्र र रातो ग्रह मंगल भने यो महिना हाम्रो दृष्टिबाट ओझेल पर्नेछन्। यतिबेला यी ग्रहहरू वृश्चिक, ओफिउकस (Ophiuchus) र धनु (Sagittarius) राशिको बीचमा घुमिरहेका छन् र दिउँसोको आकाशमा हुने भएकाले हामीले देख्न सक्दैनौँ। बुध ग्रह डिसेम्बर ७ मा सूर्यबाट आफ्नो सबैभन्दा ठूलो पश्चिमी लम्बाइ (Western Elongation) मा पुग्नेछ, जुन यसलाई पूर्वी बिहानी आकाशमा हेर्नको लागि सबैभन्दा उपयुक्त समय हो।

मंगल ग्रहमा ‘मिनी लाइटनिङ’
नासाको ‘पर्सिभरेन्स रोभर’ ले मंगल ग्रहमा पहिलो पटक विद्युतीय विसर्जन (Electrical Discharges) वा ‘सानो चट्याङ’ को तस्बिर खिचेर पुष्टि गरेको छ। मंगल ग्रहमा दुई वर्षसम्म चलेको धुलोसहितको आँधी (Dust-devil events) को अध्ययनका क्रममा यो रेकर्ड गरिएको हो। स्मरण रहोस्, मंगल ग्रहको एक वर्ष पृथ्वीको करिब १.८८ वर्ष (६८७ दिन) बराबर हुन्छ भने त्यहाँको एक दिन २४.६ घण्टाको हुन्छ।

आकाशमा अन्य ग्रहहरूको स्थिति
विशाल ग्रह बृहस्पति (Jupiter) लाई साँझपख पूर्वी आकाशमा मिथुन (Gemini) राशिको बीचमा देख्न सकिन्छ। यो मध्यरातमा दक्षिणी आकाशमा उक्लन्छ र सूर्योदय हुनुअघि पश्चिमी क्षितिजमा अस्ताउँछ। बृहस्पतिको माथि चम्किला ताराहरू कस्तुरी (Castor) र पुनर्वासु (Pollux) चम्किरहेका देखिन्छन्।

छल्लेदार ग्रह शनि (Saturn) साँझको गोधूलि पछि दक्षिण-दक्षिणपूर्व आकाशमा कुम्भ (Aquarius) राशिका ताराहरूको बीचमा देखिन्छ। मध्यरात अघि नै यो दक्षिणी आकाशमा पुग्छ। यस्तै, अरुण (Uranus) ग्रह सूर्यास्त पछि पूर्वी आकाशमा देख्न सकिन्छ भने वरुण (Neptune) लाई पनि साँझ पछि पूर्वी आकाशमा फेला पार्न सकिन्छ। यद्यपि, पृथ्वीबाट धेरै टाढा भएकाले अरुण र वरुणलाई नाङ्गो आँखाले ठम्याउन कठिन हुन्छ; यिनीहरू आकाशमा बिस्तारै तैरिरहेका चम्किला थोपाजस्तै देखिन्छन्।

चिसो जून र सुपरमुन
गत डिसेम्बर ४ मा लागेको पूर्णिमा (जसलाई हामी योमरी पूर्णिमा भन्छौँ) सन् २०२५ को अन्तिम ‘सुपरमुन’ थियो। यस समयमा जाडो बढ्ने र रातहरू लामो तथा सुनसान हुने भएकाले यसलाई ‘कोल्ड मुन’ (Cold Moon) पनि भनिन्छ।

चन्द्रमा पृथ्वीको वरिपरि अण्डाकार पथमा घुम्ने क्रममा कहिले नजिक (Perigee) त कहिले टाढा (Apogee) पुग्छ। यसको दूरी ३,५६,५०० किलोमिटरदेखि ४,०६,७०० किलोमिटरसम्म फरक पर्छ। रोचक कुरा के छ भने, हाम्रो चन्द्रमा हरेक वर्ष पृथ्वीबाट करिब ३.८ सेन्टिमिटरका दरले टाढिँदै गइरहेको छ, जुन हाम्रो नङ बढ्ने गति बराबर हो।

यहाँ एउटा महत्त्वपूर्ण सावधानी अपनाउनुपर्छ: बाइनाकुलर वा टेलिस्कोपले सूर्यको नजिकका कुनै पनि वस्तु हेर्ने प्रयास कहिल्यै गर्नुहुँदैन। यसो गर्दा तत्काल र स्थायी रूपमा आँखाको ज्योति गुम्न सक्छ।

डिसेम्बर २१ र चाडपर्वहरू
डिसेम्बर २१ मा दक्षिणायन (December Solstice) पर्दछ। यस दिन पृथ्वीको दक्षिणी ध्रुव सूर्यतर्फ ढल्किएको हुन्छ र सूर्य आकाशमा आफ्नो सबैभन्दा दक्षिणी बिन्दु (मकर रेखा) मा हुन्छ। उत्तरी गोलार्धमा यो जाडोको पहिलो दिन (Winter Solstice) हो, जहाँ रात सबैभन्दा लामो हुन्छ, जबकि दक्षिणी गोलार्धमा यो वर्षको सबैभन्दा लामो दिन हुन्छ। यसै महिना २५ डिसेम्बरमा क्रिसमस र ३० डिसेम्बरमा तमु ल्होसार मनाइन्छ भने ३१ डिसेम्बरमा हामी सन् २०२५ लाई बिदाई गर्नेछौँ।

जेमिनिड उल्का वर्षा : आकाशको आतिशबाजी
यस महिनाको मुख्य आकर्षण भनेको ‘जेमिनिड उल्का वर्षा’ (Geminid Meteor Shower) हो, जसलाई ‘उल्का वर्षाहरूको राजा’ मानिन्छ। सन् १९८२ मा पत्ता लागेको ‘३२०० फेथोन’ (3200 Phaethon) नामक क्षुद्रग्रहले छोडेका अवशेषहरूका कारण यो उल्का वर्षा हुन्छ।

यो उल्का वर्षा हरेक वर्ष डिसेम्बर ७ देखि १७ सम्म सक्रिय रहन्छ। यस वर्ष यसको मुख्य समय (Peak) डिसेम्बर १३ को रातिदेखि १४ को बिहानसम्म हुनेछ। यस समयमा प्रतिघण्टा १२० वटासम्म बहुरंगी उल्काहरू खसेको देख्न सकिन्छ। आकाशमा आधा जून (Second Quarter Moon) को उज्यालो भए पनि जेमिनिड्सको संख्या अत्यधिक हुने भएकाले यसले अझै पनि उत्कृष्ट दृश्य प्रदान गर्नेछ। यसको अवलोकनका लागि मध्यरातपछि शहरको उज्यालोबाट टाढाको खुला ठाउँ सबैभन्दा उपयुक्त हुन्छ।

यी उल्काहरू मिथुन राशि (Gemini) को नजिकबाट निस्किएजस्तो देखिन्छन्। मिथुन राशिमा रहेका दुई चम्किला ताराहरू कस्तुरी (Castor) र पुनर्वासु (Pollux) को नजिकै यसको रेडियन्ट (Radiant) बिन्दु पर्छ।

वैज्ञानिक पक्ष
यी उल्काहरू परम्परागत पुच्छ्रेतारा (Comet) बाट नभई ‘३२०० फेथोन’ नामक क्षुद्रग्रह (Asteroid) का अवशेषबाट उत्पन्न भएका हुन्, त्यसैले यिनीहरू अनौठो र बहुरंगी हुन्छन्। फेथोनको व्यास जम्मा ६ किलोमिटर छ। यसले सूर्यको परिक्रमा १.४ वर्षमा पूरा गर्छ। यसको कक्ष लामो र अण्डाकार भएकाले वैज्ञानिकहरू यसलाई “मृत पुच्छ्रेतारा” (Dead Comet) पनि भन्न सकिने अनुमान गर्छन्।

यी उल्काहरू ३५ किलोमिटर प्रति सेकेन्डको तीव्र गतिमा खस्छन् र पृथ्वीको सतहभन्दा करिब ३९ किलोमिटर माथि नै जलेर नष्ट हुन्छन्। क्षुद्रग्रह फेथोनको विस्तृत अध्ययनका लागि जापानी अन्तरिक्ष यान ‘डेस्टिनी प्लस’ (DESTINY+) सन् २०२८ मा प्रक्षेपण गर्ने योजना छ, जसले २०३० सम्ममा महत्त्वपूर्ण जानकारी दिने अपेक्षा गरिएको छ।

जाडोको यो याममा न्यानो लुगा लगाएर आकाशतिर हेर्नुहोस्, सायद तपाईंले पनि प्रकृतिको यो अद्भुत आतिशबाजी देख्न सक्नुहुनेछ।

(लेखक नाष्टका प्राज्ञ तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का संरक्षक हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।