लोड हुँदैछ...

मेनु

हसिनाको सत्ता ढाल्ने युवा नेता उस्मानको हत्यापछि बंगलादेशमा हिंसा भड्कियो

हसिनाको सत्ता ढाल्ने युवा नेता उस्मानको हत्यापछि बंगलादेशमा हिंसा भड्कियो

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने आन्दोलनका प्रमुख युवा नेता शरीफ उस्मान हादीको हत्यापछि बंगलादेशमा हिंसा फैलिएको छ ।

राजधानी ढाकासहित विभिन्न सहरमा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएपछि सरकारले सेना परिचालन गरेको छ ।

इन्कलाब मञ्चका वरिष्ठ नेता तथा ३२ वर्षीय हादीमाथि गत साता ढाकाको एक मस्जिदबाट बाहिर निस्कने क्रममा नकाबधारी आक्रमणकारीले टाउकोमा गोली हानेका थिए । उपचारका लागि सिंगापुर लगिएका हादीको बिहीबार निधन भएको हो ।

सन् २०२४ मा भएको आन्दोलनपछि पहिलोपटक निर्वाचनको मिति घोषणा भएको भोलिपल्ट उनीमाथि आक्रमण भएको थियो । हादी आगामी आम चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए ।

हादीको मृत्युको खबर सार्वजनिक हुनासाथ उनका सयौँ समर्थकहरू ढाकाको विभिन्न स्थानमा सडकमा उत्रिएका थिए । प्रदर्शन उग्र बन्दै जाँदा बंगलादेशका प्रमुख सञ्चारमाध्यम ‘प्रोथोम आलो’ र ‘द डेली स्टार’ का कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । केही पत्रकारहरू भवनभित्रै फसेपछि सेनाको सहयोगमा उद्धार गरिएको थियो । हिंसापछि दुवै सञ्चारगृहका छापा तथा अनलाइन सेवा अस्थायी रूपमा बन्द भएका छन् ।

प्रदर्शनका क्रममा शेख हसिनाको पार्टी अवामी लिगका कार्यालय, पूर्व राष्ट्रपति शेख मुजिबुर रहमानको निवास तथा पूर्व मन्त्रीहरूको घरमा समेत तोडफोड र आगजनी गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । चटगाँउ, राजशाहीलगायत अन्य सहरहरूमा पनि हिंसात्मक प्रदर्शन भएका छन् । भारतीय सहायक उच्चायोग अगाडि समेत भीड जम्मा भई ढुंगामुढा भएको छ ।

अन्तरिम सरकारका प्रमुख तथा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले हादीको मृत्युलाई ‘देशका लागि अपूरणीय क्षति’ भन्दै हिंसा र आतङ्कले लोकतान्त्रिक यात्रालाई रोक्न नसक्ने बताएका छन् । टेलिभिजन सम्बोधनमा उनले घटनालाई पूर्वनियोजित षड्यन्त्र भन्दै दोषीलाई कानुनी कठघरामा ल्याइने प्रतिबद्धता जनाएका छन् । अन्तरिम सरकारले शनिबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

राजनीतिक दल, चुनाव आयोग तथा नागरिक समाजले पनि घटनाप्रति शोक व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । चुनाव आयोगले हादीलाई ‘युवाहरूको आवाज’ भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

देशभर अशान्ति बढेपछि ढाकासहित विभिन्न क्षेत्रमा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ । छिमेकी भारतले पनि बंगलादेशमा रहेका आफ्ना नागरिक र विद्यार्थीलाई सतर्क रहन आग्रह गरेको छ ।

आगामी फेब्रुअरी १२ मा तय गरिएको आम चुनावको पूर्वसन्ध्यामा भएको हिंसाले बंगलादेशको राजनीतिक अवस्था थप अनिश्चित बनेको विश्लेषकहरूको भनाइ छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।