लोड हुँदैछ...

मेनु

सुशीला कार्की नेतृत्वको सरकार ढाल्ने ओलीको चेतावनी, भने, ‘नेतृत्वलाई छोए देश ठप्प पार्छौँ’

सुशीला कार्की नेतृत्वको सरकार ढाल्ने ओलीको चेतावनी, भने, ‘नेतृत्वलाई छोए देश ठप्प पार्छौँ’

काठमाडौँ । नेकपा (एमाले) को अध्यक्षमा निर्वाचित भएलगत्तै केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन्। बिहीबार शपथग्रहण लगत्तै ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई ढाल्नका लागि ‘स्ट्यान्डबाई’ रहन कार्यकर्तालाई निर्देशन दिँदै नेतृत्वमाथि औँला ठड्याए देश नै ठप्प पार्ने चेतावनी दिए।

अध्यक्ष ओलीले एमाले नेतृत्वलाई कमजोर पार्न पञ्चायतकालीन शैलीमा जाली मुद्दा लगाउने वा भौतिक आक्रमण गर्ने षड्यन्त्र भइरहेको दाबी गरे। उनले नेतृत्वमाथि कुनै प्रकारको कानुनी वा भौतिक प्रहार भएमा त्यो वर्तमान सत्ता गठबन्धनका लागि संसारकै सबैभन्दा महँगो पर्ने धम्की समेत दिएका छन्।

शपथग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ, यो सरकार ढल्नुपर्दछ। यसका निम्ति एमाले पंक्तिले देशभरिबाट तयारी हालतमा बस्नुपर्दछ।’ उनले मिडिया ट्रायलमार्फत आफ्नो नेतृत्वलाई बदनाम गराउन खोजिएको आरोप लगाउँदै अब कुराले मात्र नभई कामले प्रतिकार गर्ने बेला आएको बताए।

वर्तमान सरकारप्रति चर्को रोष प्रकट गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने आवश्यकता औँल्याए। ‘संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छुनु महँगो पर्नेछ,’ ओलीले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘यो कुराको लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ, गरेर देखाउनुपर्दछ।’

उनले एमालेको शक्तिलाई कम नआँक्न चेतावनी दिँदै नेतृत्वविरुद्ध घेराबन्दी भएमा जस्तोसुकै कठोर कदम चाल्न पनि पार्टी पछि नहट्ने स्पष्ट संकेत गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds