विराटनगर । नेकपा (एमाले) को ११औं महाधिवेशनमा भएको निर्वाचनमा कोशी प्रदेशका चर्चामा रहेको अनुहारहरु ने पराजित भएका छन् । कतिपय नेताहरु पदाधिकारीमा पराजित भएका छन् भने कतिपय केन्द्रीय सदस्यमा पराजित भएका छन् । पराजित हुनेमा केपी शर्मा ओली समूहबाटै उम्मेद्वार बनेको केन्द्रीय उपाध्यक्ष मोरङका गुरुप्रसाद बराल पनि छन् ।
बराल बाहेक पराजयको स्वाद चाख्नेमा इश्वर पोखरेल समूह र स्वतन्त्र उम्मेद्वारी दिएकाहरु छन् । सुनसरीका नेता भीम आचार्य यसअघि सचिव थिए । उनी उपाध्यक्ष पदमा पराजित भए । यस्तै उपाध्यक्षका उम्मेद्वार संखुवासभाका पर्शुराम मेघी गुरुङ पनि पराजित बनेका छन् । आचार्य भने दुवै समूहको प्यानलमा नपरेपछि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने गुरुङ पोखरेल प्यानलमा थिए ।
यस्तै कोशी प्रदेशको अध्यक्षमा पराजित भएका मोरङ विराटनगरका विनोद ढकालले यसपटक एमालेको केन्द्रीय सचिवमा उम्मेद्वारी दिएका थिए । उनी पनि पराजित बने । यस्तै मोरङ विराटनगरकै पूर्वमन्त्री लालबाबु पण्डित पनि सचिव पदमा पराजित बने । बराल बाहेक अरु पराजित अनुहारहरु इश्वर पोखरेल प्यानलबाट प्रतिस्पर्धा गरेको भएपनि पण्डित भने स्वतन्त्र रुपमा लडेका थिए । यस्तै सचिवमै पोखरेल प्यानलबाट प्रतिस्पर्धा गरेको झापाका नेता अग्नि खरेल पनि पराजित बनेका छन् ।
पराजित हुनेमा प्रदेश सरकारका बहालवाला मन्त्री, संसदीय दलका प्रमुख सचेतक र अन्य केही सांसदहरू समेत छन् । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी ६२९ मतमा सीमित हुँदै पराजित भए । उनले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । त्यस्तै, एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक संखुवासभाका विदुरकुमार लिङ्थेप पनि फराकिलो अन्तरले पराजित भएका छन् । उनले जम्मा ४४३ मत मात्र प्राप्त गर्न सके । उनी पोखरेल प्यानलमा थिए ।
केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका पूर्वमन्त्री समेत रहेका सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारी (५८१ मत) र पूर्वमन्त्री तथा मोरङका सांसद लिलाबल्लभ अधिकारी (५४७ मत) पनि पराजित भएका छन् । राजभण्डारी र अधिकारी ईश्वर पोखरेल प्यानलमा थिए ।
यसपटकको निर्वाचनमा एमाले नेता भीमप्रसाद आचार्यको परिवारका लागि नतिजा सुखद् रहेन । उपाध्यक्ष पदमा उम्मेदवारी दिएका आचार्य र भूगोल क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी उनकी श्रीमती तथा कोशी प्रदेश सांसद निरादेवी खनाल पनि पराजित भए । निरादेवीलाई ईश्वर पोखरेल पक्षले आफ्नो प्यानलमा राखेको थियो । जसले ७८७ मत प्राप्त गरे पनि जितका लागि पर्याप्त भएन ।
यस्तै केन्द्रीय सदस्यमा मोरङका युवराज बास्कोटा, पूर्वमन्त्री समेत रहेका ओखलढुंगाका अम्बिरबाबु गुरुङ, पूर्व राष्ट्रियसभाका सदस्य खेम नेपाली, संविधानसभा सदस्य समेत रहेका झापाका रविन कोइराला, भोजपुरका शरणकुमार राई, मजदुर नेता सुनसरीका भीम ज्वाला राई पनि पराजित बनेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।