लोड हुँदैछ...

मेनु

एमाले नेता गुरु बराल : निरन्तर पराजित !

एमाले नेता गुरु बराल : निरन्तर पराजित !

विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा ५ जना उपाध्यक्षको कोटामा मोरङका गुरुप्रसाद बराल पनि उम्मेद्वार थिए । अध्यक्ष केपी शर्मा ओलीको समूहमै रहेका बराल पार्टीको निर्वाचित उपाध्यक्ष बन्न सकेनन् । अर्थात् उनी पराजित बने । उनले उपाध्यक्षमा मात्रै होइन केन्द्रीय सदस्यमा पनि हारे ।

एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, बरालले केन्द्रीय सदस्यमा ७५४ मत मात्रै पाएका छन् । केन्द्रीय सदस्यमा १ हजार ५०० भन्दा बढी मत ल्याउने मात्रै निर्वाचित भएका छन् । उपाध्यक्षमा बरालले १ हजार १३७ मत मात्रै पाएका थिए । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा बादल (१५१६), गोकर्णराज विष्ट (१३६८) र रघुजी पन्त (१२५८) निर्वाचित भए ।

बराल महाधिवेशनमा उम्मेद्वार बन्दा उनी मनोनित उपाध्यक्ष थिए । दशौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको पदमा उनलाई मनोनित गरिएको थियो । उनले पार्टीको स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

तर, बराललाई निर्वाचन फापेका खासै छैन । पार्टीका आन्तरिक निर्वाचनमा मात्रै होइन आफ्नो बलियो सम्भावना हुँदा हुँदा झिना मसिना व्यवस्थापन हुन नसक्दा उनी पराजित बन्ने गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँचौं महाधिवेशनदेखि नै निकट सम्बन्ध रहेका मोरङका नेता बरालको संसदीय राजनीति पनि उतारचढावपूर्ण रहेको छ । वि.सं. २०५१ को उपनिर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट जित हासिल गरेयता उनी निरन्तर चुनावी मैदानमा पराजित हुँदै आएका छन् ।

बराल ती सीमित एमाले नेताहरूमा पर्छन्, जो पटक–पटक टिकट पाउँछन् तर नतिजा आफ्नो पक्षमा पार्न सक्दैनन् । २०५१ सहित हालसम्म पाँचपटक उम्मेदवार बनेका उनी २०५६ मा मोरङ–६, २०६४ को संविधानसभामा मोरङ–४ र २०७० मा मोरङ–३ बाट पराजित भए । २०७४ को चुनावमा मोरङ–३ बाट आकांक्षी भए पनि टिकट भानुभक्त ढकालले पाएका थिए ।

पछिल्लो पटक २०७८ माघमा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पनि उनको हार निकै चर्चामा रह्यो । पार्टीकै दुई प्रदेश सांसदको ‘अन्तरघात’का कारण उनको मतभार नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग बराबर भएको थियो । अन्ततः गोलाप्रथाद्वारा निर्णय लिइँदा भाग्यले साथ नदिँदा बराल पराजित भए भने बस्नेत निर्वाचित भए ।

चुनावी असफलताका बाबजुद अध्यक्ष ओलीसँगको विश्वासिलो सम्बन्धका कारण पार्टीभित्र उनको प्रभाव लोभलाग्दो छ । कोशी प्रदेशमा ओली सहभागी हुने कार्यक्रमहरूको अन्तिम रूपरेखा बरालले नै तय गर्ने गर्छन् । २०५४ सालको स्थानीय निर्वाचनमा जस्तै हालका स्थानीय निर्वाचनहरूमा पनि टिकट वितरणमा उनको भूमिका निर्णायक रहने गरेको छ । पार्टी विभाजनपछि उनी पुनः शक्ति केन्द्रमा आएका हुन् ।

करिब ५५ वर्षदेखि एमालेको राजनीतिमा अनवरत सक्रिय बराललाई त्याग, निष्ठा र इमानदारिताको पर्यायका रूपमा पनि चिनिन्छ । विकास राजनीति र नीतिगत अनुसन्धानमा दख्खल राख्ने बरालले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds