विराटनगर । नेकपा एमालेको मोरङ जिल्ला कमिटीमा पराजित भएकी विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पार्टी राजनीतिमा फड्को मारेकी छन्। जिल्ला तहको नेतृत्वमा पराजित भएको केही महिनामै उनी एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा कार्कीले १ हजार ७ सय ४३ मत प्राप्त गर्दै केन्द्रीय सदस्य (खुला) पदमा जित हासिल गरेकी हुन्।
गत फागुनमा सम्पन्न एमाले मोरङको जिल्ला अधिवेशनमा कार्की उपसचिव पदमा उम्मेदवार थिइन्, तर पराजित भइन्। जिल्ला तहमा पराजित भए पनि उनलाई संस्थापन पक्ष केपी शर्मा ओली समूहले सिधै केन्द्रीय सदस्यको उम्मेदवार बनाएको थियो। अध्यक्ष ओलीको विश्वासिलो पात्रका रूपमा चिनिने कार्कीले केन्द्रीय महाधिवेशनमा भने सम्मानजनक मतका साथ जित हात पारेकी छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा दलहरूको बलियो गठबन्धनका बीच पनि कार्की विराटनगर महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन्। सोही निर्वाचनमा एमालेबाट मेयरका उम्मेदवार सागर थापा भने पराजित भएका थिए।
पार्टी अप्ठेरोमा परेको बेला जनमतबाट अनुमोदित भएको भन्दै अध्यक्ष ओलीले उनलाई केन्द्रीय भूमिकामा अघि बढाएका हुन्। अनेमसंघको राजनीतिबाट कार्की पार्टी राजनीतिमा आएकी हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।