विराटनगर । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि वरिष्ठ नेता ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन्।
महाधिवेशनको अन्तिम परिणाम सार्वजनिक भएलगत्तै पोखरेलले एक सन्देश जारी गर्दै आफ्नो पराजय स्वीकार गरेका हुन्। मंसीर २७ देखि पुस ३ गतेसम्म चलेको महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रहेका पोखरेलले आफू विजयी नभए पनि पार्टीको आन्दोलनमा आफ्नो सक्रियता नघट्ने प्रतिबद्धता जनाएका छन्।
पोखरेलले प्रतिस्पर्धामा आफूलाई साथ दिने र विश्वासको मत प्रदान गर्ने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। उनले महाधिवेशनका क्रममा आफूले उठाएका ‘सामूहिक नेतृत्व’ र ‘चेक एण्ड ब्यालेन्स’ का मुद्दाहरू ओझेलमा पर्न नदिने संकेत गरेका छन्।
आफ्नो सन्देशमा उनले भनेका छन्, ‘जनताको बहुदलीय जनवाद (जबज) को प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी सञ्चालन तथा ुनियन्त्रण र सन्तुलन’ को सिद्धान्तको पालना आदि महत्त्वपूर्ण विषयहरूले बहस र छलफलमा नयाँ स्तरमा निरन्तरता पाउने विश्वास व्यक्त गर्दछु।’
पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्न शक्ति सन्तुलन आवश्यक रहेको मुद्दा उनले चुनावी एजेन्डा बनाएका थिए। नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिए पनि पोखरेलले कम्युनिष्ट आन्दोलन र पार्टीको मिसनबाट विचलित नहुने स्पष्ट पारेका छन्। ‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने विश्वास दिलाउन चाहन्छु,’ पोखरेलले उल्लेख गरेका छन्।
उनले एमालेको निर्वाचित नयाँ नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरोस् भन्दै अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।