लोड हुँदैछ...

मेनु

भीम रावलको टिप्पणी– ढिलै भएपनि साथीहरूको बुद्धि आएछ

भीम रावलको टिप्पणी– ढिलै भएपनि साथीहरूको बुद्धि आएछ

विराटनगर। नेपाल कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेभित्र अहिले देखिएको असन्तुष्टि र नेतृत्वप्रतिको आलोचनालाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले १० औँ महाधिवेशनमा आफूले उठाएको आवाज अहिले अन्य नेताहरूले उठाउँदा खुसी लागेको बताएका हुन्।

बझाङमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले एमालेको १० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न खोज्दा आफ्नो चर्को आलोचना गर्नेहरूको अहिले ‘रुवाबासी’ चलेको बताए।

‘महाधिवेशनमा आउने सबै प्रतिनिधिको चुन्ने र चुनिने अधिकार छ, जबजको मर्म त्यही हो। तर, मैले उहाँलाई (ओलीलाई) चुनौती दिँदा उहाँले मलाई शत्रु ठानेर पार्टीबाटै पाखा लगाउनुभयो,’ नेता रावलले भने।

उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीतर्फ संकेत गर्दै हिजो आफूलाई गाली गर्नेहरू आज नेतृत्वको पेलाइमा परेको बताए। रावलले भने, ‘जुन साथीहरूले १० औँ महाधिवेशनमा मैले उठाएको आवाजलाई केपी ओलीसँग भीम रावलको रिसिबी, नेता नमान्ने चरित्र भनेर झूटा प्रचार गरेका थिए, आज तिनै साथीहरूको रुवाबासी चलिरहेको छ।’

अहिले एमालेमा नयाँ नेतृत्व र विधिको कुरा उठ्दा पुराना आलोचकहरूको चेत खुलेको रावलको तर्क छ। एमालेभित्र अहिले नेतृत्वको आलोचना हुन थालेपछि आफ्नो पुरानो अडान सही सावित भएको उनले दाबी गरे।

‘आज एमालेमा कोही केपी ओलीजस्तो क्रूर नेता छैन भनेर घोषणा गर्दैछन्,’ रावलले भने, मैले १० औँ महाधिवेशनमा बोलेको कुरा आज केही साथीहरूले उठाएको देख्दा मलाई खुसी लागेको छ। ढिलै भएपनि बुद्धि आएछ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds