लोड हुँदैछ...

मेनु

प्रविधिमैत्री शिक्षाका लागि शिक्षा अधिकृतलाई अभिमुखीकरण

प्रविधिमैत्री शिक्षाका लागि शिक्षा अधिकृतलाई अभिमुखीकरण

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा शिक्षासम्बन्धी विभिन्न नीति, नियम र वार्षिक कार्यक्रम कार्यान्वयनका विषयमा पाँच दिने प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको आयोजनामा सुरु भएको उक्त कार्यक्रम ५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा कोशी प्रदेशका १३७ वटै स्थानीय तहका शिक्षा अधिकृतहरू, १४ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरू, सामाजिक विकास मन्त्रालय, शिक्षा तालिम केन्द्र, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूसहित १५० जनाभन्दा बढीको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक एवं कार्यक्रमका सहजकर्ता नीलकण्ठ ढकालले वर्तमान शिक्षाका नीति, नियम तथा निर्देशिकाहरूलाई अझ उन्नत र समयानुकूल बनाउनका लागि यस किसिमको अभिमुखीकरण आयोजना गरिएको बताए ।

निर्देशक ढकालले भने, ‘एक्काइसौँ शताब्दीमा प्रविधिमैत्री, सीपमूलक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आजको प्रमुख आवश्यकता हो। तसर्थ, शिक्षा क्षेत्रमा व्यापक सुधार गरेर अगाडि बढ्नुपर्ने खाँचो छ।’

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालका अनुसार यस प्रकारको तालिम तथा अभिमुखीकरण यसअघि अन्य ६ वटा प्रदेशमा सम्पन्न भइसकेको छ ।

पाँच दिनसम्म चल्ने उक्त कार्यक्रममा शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका सचिव उद्धवप्रसाद रिजाल, शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल, शिक्षा तालिम केन्द्र इनरुवाका प्रमुख गोपालप्रसाद दाहाल तथा युनिसेफका प्रतिनिधि जिममे लगायतको उपस्थितिमा विभिन्न सत्रहरू सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।