विराटनगर । मोरङमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक पैदलयात्री र एक ट्याक्टरका सह–चालकको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार साँझ करिब ७ः३५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट अन्दाजी ५० वर्षका परिचय नखुलेका व्यक्ति गम्भीर घाइते भएका थिए।
घाइते उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी चौकी झोराहाटको टोलीले मोटरसाइकल चालक १८ वर्षीय इसान पौडेललाई नियन्त्रणमा लिएको छ।
यस्तै, सुन्दरहरैँचा नगरपालिका–६ गौरीगाउँमा आइतबार बिहान करिब ५ः४५ बजे को १ त ६४५८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको छ । भित्री सडक खण्ड हुँदै गछिया खोलातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी सह–चालक स्थानीय २६ वर्षीय अतित राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा बिहान ७ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि ट्याक्टर चालक ४० वर्षीय प्रेमकुमार राईलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।