विराटनगर । झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडकमा खेत जोतेर सडकमा निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।
शुक्रबार दिउँसो करिब १२ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकल र खेतबाट सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी ५ वर्षीया भाञ्जी हाजिरा खातुन र ४५ वर्षीया आमा नुरेश सादेवी घाइते भएका थिए। घाइते तीनै जनालाई तत्काल उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगिएको थियो।
उपचारका क्रममा चिकित्सकले समिर अली र उनकी भाञ्जी हाजिरा खातुनलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा गम्भीर घाइते भएकी नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले ट्याक्टर, मोटरसाइकल तथा ट्याक्टर चालक कनकाई नगरपालिका–५ निवासी ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।