लोड हुँदैछ...

मेनु

नेप्से परिसूचक बढ्दा कारोबार रकम घट्यो

नेप्से परिसूचक बढ्दा कारोबार रकम घट्यो

विराटनगर । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर २६१४.०७ विन्दुमा बन्द भएको छ।

पछिल्ला छ वटा कारोबार दिनदेखि घटिरहेको नेप्से यस दिन सामान्य वृद्धिसँग बन्द भएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ।

नेप्से बढेपनि कारोबार रकम घटेको छ। सोमबार ४ अर्ब ६६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँबराबरको ८७ लाख ४२ हजार कित्ता शेयर किनबेच भएको छ ।

यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र माथिल्लो मैलुङ्ग खोला जलविद्युत्का शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य ८.७६ प्रतिशत र सुपर मादी हाइड्रोपावरको ८.१० प्रतिशत बढेको छ । मूल्य घटेका स्टकको गिरावट ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ९२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंक ११ करोडभन्दा बढी र राधी विद्युत् कम्पनी करिब १० करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

बजारका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूह घटेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।

आज १४८ कम्पनीको मूल्य बढ्दा १०१ कम्पनीको घट्यो र ९ कम्पनीको स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।