विराटनगर । भारत गोवास्थित अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ ।
घटनामा कुल २५ जनाको मृत्यु भएकोमा चार नेपाली रहेको पुष्टि भएको हो । आगलागीमा ६ जना घाइते छन् ।
घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् । चार जना नेपाली पनि क्लबको कर्मचारी रहेको र उनीहरुको पनि मृत्यु भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
भारतीय सञ्चार माध्यमका अनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरुको ठेगाना भने खुलेको छ । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको हिन्दुस्तान टाइम्सले लेखेकाके छ ।
शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरो बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो ।
नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसासिएर मृत्यु भएको हो । क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।
गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । नियमविपरीत नाइट क्बल सञ्चालनको अनुमति दिने गोवा सरकारका तीन कर्मचारी पनि निलम्बनमा परेका छन् ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई ५ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
आगलागीमा मृत्यु भएकाहरु ः
चुर्ण बहादुर पुन — नेपाल
विवेक कटवाल — नेपाल
सबिन — नेपाल
सुदीप — नेपाल
मोहित— झारखण्ड
प्रदीप महतो— झारखण्ड
बिनोद महतो— झारखण्ड
सतीश सिंह — उत्तराखण्ड
सुरेन्द्र सिंह — उत्तराखण्ड
जितेन्द्र सिंह — उत्तराखण्ड
सुमित नेगी — उत्तराखण्ड
मनिश सिंह — उत्तराखण्ड
दिगम्बर पटिर — असम
राहुल तन्ती— असम
मनोजित माल — असम
सुनील कुमार — उत्तर प्रदेश
रोहन सिंह — उत्तर प्रदेश
डोमिनिक — महाराष्ट्र
मनोज जोरा — महाराष्ट्र
इसहाक — कर्नाटक
सुभास क्षेत्री— दार्जिलिङ, पश्चिम बंगाल
सरोज जोशी — दिल्ली
विनोद कुमार — दिल्ली
अनिता जोशी — दिल्ली
कमला जोशी — दिल्ली




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।