जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा कृषि क्रान्ति गरेर आमूल परिवर्तन गर्न जरुरी भएको बताएका छन्।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबार भएको नेपाली कम्युनिस्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कृषि क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि यस क्षेत्रमा नयाँ आधुनिक तवरले कृषि क्रान्ति हुन जरुरी रहेको बताए।
उनले कृषिमा आधुनिकीकरण गरी उत्पादकत्व वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गर्नका लागि पनि कृषि क्रान्तिको आवश्यकता भएकोमा जोड दिए। उनले भने, ‘मधेशमा कृषि क्रान्तिपछि सिङ्गै मुलुकमा आर्थिक क्रान्ति हुन्छ।”
संयोजक प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा भने जस्तो जनताको हित र आवश्यकता अनुसार काम नभएकाले युवामा आक्रोश उत्पन्न भएर भएको जेनजीको आन्दोलनपछिको अवस्थाको गम्भीर समीक्षा गरेर रूपान्तरित हुनु पर्छ भन्ने भावले आफ्नो पार्टीले युवाको भावनालाई समेटेर अगाडि बढ्न चाहेको बताए। प्रचण्डले मधेश प्रदेशमा तथाकथित समीकरण तोडिएर नयाँ समीकरणमार्फत सरकार गठन भएको भन्दै मधेशबाट गए यो सन्देश अन्य प्रदेशमा पनि लागु हुने धारणा राखे।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १६ वटा पार्टी एक ठाउँमै आएर बनेको नेपाली कम्युनिस्ट पार्टीको मान्यता युवामा निहित रहेको र सयौँको सङ्ख्यामा जेनजी यस पार्टीमा प्रवेश गरेको बताए। उनले जनताको आशा भरोसाको केन्द्र रहेको यस पार्टीले समाजवादको झन्डा लिएर अगाडि बढ्न चाहेको भन्दै समाजवाद ल्याउनका लागि आगामी निर्वाचनमा तारा चिह्नमा मतदान गर्न÷गराउन नेता कार्यकर्तालाई आग्रह गरे।
नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हरेक किसिमका मुक्तिका लागि समाजवाद आवश्यक भएको भन्दै समाजवाद ल्याउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री महेन्द्रराय यादवको अध्यक्षतामा भएको सो सभामा नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठसहितका नेताले सम्बोधन गरेका थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।