जेनजीमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता पक्राउ परेपछि सिमरा शान्त

जेनजीमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता पक्राउ परेपछि सिमरा शान्त

जनकपुर । जेनजी समूहका प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोप लागेका एमाले कार्यकर्ता पक्राउ परेपछि बाराको सिमरामा दुई दिनदेखि जारी तनाव क्रमशः सामान्य बन्दै गएको छ ।

बुधबारदेखि सुरू भएको झडप, अवरोध र कर्फ्युसहितको तनावबाट बिहीबार रातिदेखि अवस्थाले शिथिलता पाउन थालेको हो ।

बुधबार सिमरामा एमालेको जागरणसभाको विरोधमा उत्रिएका जेन–जी समूह र एमाले कार्यकर्ताबीच झडप भएपछि स्थिति एकाएक असामान्य बनेको थियो । झडपको क्रममा एमालेका कार्यकर्ताले जेन–जी समूहका बारा संयोजक सम्राट उपाध्यायसहितका युवामाथि कुटपिट गरेपछि प्रदर्शन उग्र बनेको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेको थियो। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी प्रशासनले वडा २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का अध्यक्ष कैमुदिन अन्सारीलाई बिहीबार बिहानै पक्राउ गरेको थियो । तर, जेन–जी समूहले ‘मुख्य दोषी’ भनिएका एमाले निकट युवा अरविन्द साह पक्राउ नपरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको थियो ।

बिहीबार साँझ साहलाई समेत पक्राउ गरेपछि विवाद समाधानतर्फ मोडिएको हो । साह पक्राउ परेपछि जेन–जी समूहले प्रशासनसँगको समन्वयमा बिहीबार साँझबाट प्रदर्शन स्थगित भएको छ ।

झडपमा ६ जना प्रहरी र ४ जना जेन–जी कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको वीरगन्जमा उपचार भइरहेको छ भने अन्यको सिमरास्थित अस्पतालमा उपचार भइरहेको छ।

चित्त बिग्रँदो स्थितिका कारण जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । तर, राति ८ बजेदेखि कर्फ्यु थप नगरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।

कर्फ्यु हटेसँगै यातायात र बजार पनि क्रमशः सुचारु हुन थालेका छन्।
स्थानीय प्रशासनले आन्दोलनकारीलाई संयमता अपनाउन र वार्ताबाटै समाधान खोज्न आग्रह गरेको छ ।

आरोपी पक्राउका घटनासँगै सतर्कता कायम रहे पनि सिमरामा वातावरण सामान्यतर्फ फर्किएको स्थानीय प्रशासनको भनाइ छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्