सिमरामा तनाव : शंकर पोखरेल र महेश बस्नेत चढेको जहाजलाई अवतरण गर्न नदिने चेतावनी

सिमरामा तनाव : शंकर पोखरेल र महेश बस्नेत चढेको जहाजलाई अवतरण गर्न नदिने चेतावनी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सवार बुद्ध एयरको जहाजलाई सिमरा विमानस्थलमा अवतरण गर्न नदिने भन्दै युवाहरुले प्रदर्शन गरेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिएको छ। काठमाडौं विमानस्थलमा उडानको लागि सम्पूर्ण तयारी पूरा गरी जहाजमा चढिसकेका यात्रुहरुलाई समेत फिर्ता बोलाइएको थियो ,

बुधबार बिहान काठमाडौंबाट सिमराका लागि उड्न लागेको बुद्ध एयरको विमानमा नेकपा एमालेका महासचिव पोखरेल र नेता बस्नेत रहेको थाहा पाएपछि सिमरामा युवाहरुको एक समूहले विमानस्थल बाहिर प्रदर्शन सुरु गरेको थियो। उनीहरुले नेता बस्नेतविरुद्ध चर्को नाराबाजी गर्दै जहाज अवतरण गर्न नदिने चेतावनी दिएका थिए।
बाराका प्रहरी प्रमुख, एसपी सन्तोष तामाङले विमानस्थल क्षेत्रमा भीड बढेको पुष्टि गर्दै शान्ति सुव्यवस्था कायम गर्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। उनले प्रदर्शनकारीहरुलाई संयमित हुन र विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा भीड नगर्न अनुरोध गरिएको बताए।

जहाजमा सवार पत्रकार राजन कुइँकेलले सामाजिक सञ्जालमार्फत घटनाको जानकारी दिँदै भने, ‘शंकर पोखरेल र महेश बस्नेत जाने थाहा पाएपछि हाम्रो विमानलाई अवतरण नदिने भएपछि काठमाडौं विमानस्थलबाट विमानमा चढिसकेका यात्रुलाई ओरालिएको छ। विमानस्थल नै बन्द गर्ने काम राम्रो होइन। यो गम्भीर विषय हो।’
पोखरेल र बस्नेतको सिमरा जाने कार्यक्रम अनिश्चित बनेको छ र विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्