मधेस प्रदेशमा सभामुखविरूद्ध अविश्वास प्रस्ताव अघि बढाउने तयारी

मधेस प्रदेशमा सभामुखविरूद्ध अविश्वास प्रस्ताव अघि बढाउने तयारी

जनकपुर । मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डलविरूद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव अघि बढ्ने भएको छ ।

उपसभामुख बबिताकुमारी राउत ईशरले प्रस्तावमाथि छलफलका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाएकी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य उपेन्द्र महतोका अनुसार बैठकमा सभामुखले पदअनुकूल आचरण नगरेको विषयमा छलफल हुनेछ । बैठक अघि बिहान १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने जानकारी उपसभामुख राउतले दिएकी छन् ।

नेकपा एमाले भने बैठकमा सहभागी नहुने भएको छ । एमालेकी प्रदेशसभा सदस्य शारदा थापाले बैठकबारे सूचना आएको स्वीकार गर्दै आफू बैठकमा सहभागी नहुने बताइन् । उपसभामुखले असंवैधानिक काम नगरेको हुँदा उपस्थित हुन आवश्यक नठानेको उनको भनाइ छ।

नियमावलीअनुसार अविश्वास प्रस्तावमाथि छलफल बढाउने समय ७ दिन मात्र हुने र बुधबार अन्तिम मिति भएकाले छलफल अघि बढाउने तयारी गरिएको हो । प्रक्रियालाई सहज रूपमा अघि बढाउन सभामुख पक्षबाट सहयोग नभएको आरोप उपसभामुख राउतले लगाएकी छन् ।

सभामुखको निर्देशनमा प्रदेशसभा सचिवालयका सचिव तथा कर्मचारीहरू मोबाइल स्विच अफ गरी सम्पर्कविहीन बनेका छन् । कर्मचारी नै उपस्थित नभएपछि बैठक सञ्चालनमा समस्या भएको उपसभामुखको गुनासो छ ।

सभामुखका मण्डलका निजी सचिव बलराम मण्डलले भने मंसिर ३ मा प्रदेशसभा बैठक बोलाइएको जानकारी आफूलाई नभएको बताएका छन् । सभामुखले बैठक आह्वान नगरेको उनको भनाइ छ ।

सभामुख मण्डलले एक दलको निर्देशनमा सभा सञ्चालन गरेको, विपक्षी अनुपस्थितिमा पनि बैठक अघि बढाएको तथा रोस्ट्रम प्रयोगमा विभेद गरेको आरोपसहित ७ दलका ६४ सांसदले कात्तिक २७ मा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव पारित गर्न दुईतिहाइ बहुमत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ ।

प्रस्ताव दर्ताका क्रममा सभामुखले सांसदहरूमाथि हातपात गरेको तथा उपसभामुखको कार्यकक्षमै सांसदहरूलाई थुनेको आरोप समेत लागेका थिए । प्रहरीले घटनास्थलमा पुगेर उनीहरूलाई मुक्त गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्