धरान । सुनसरीको धरानमा अर्थोडोन्टिक सम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
अर्थोडोन्टिक एण्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएशन अफ नेपाल (ओडान) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको हो ।
धरानमा पहिलोपटक आयोजना गरिएको यस अन्तरराष्ट्रिय सम्मेलनमा ११ जना भारतीय र ९० जना नेपाली विशेषज्ञ चिकित्सक सहभागी थिए । सम्मेलन आयोजक समितिका अध्यक्ष तथा प्रतिष्ठानका सह–प्राध्यापक डा.प्रभात रञ्जन पोख्रेलका अनुसार सम्मेलनमा विज्ञहरूले अर्थोडोन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक्ससम्बन्धी आधुनिक प्रविधि, अनुसन्धान र अनुभव प्रस्तुत गरेका थिए ।
क्लियर अलाइनर्स, सेल्फ–लिगेटिङ ब्र्याकेट्स, टेम्पररी एंकरिज डिभाइस, डिजिटल ट्रिटमेन्ट योजना लगायत अत्याधुनिक प्रविधिहरू सम्मेलनको मुख्य आकर्षण बने। भारतमा सामान्यतया प्रयोगमा नआएका सामग्री र बाङ्गा दाँत मिलाउने नयाँ विधिहरू समेत यसपटक प्रस्तुत गरिएको थियो ।
सम्मेलनमा भारतीय विशेषज्ञ प्रा.डा. अभिषेक घोस, प्रा. डा. अभिषेक गुप्ता र डा. अभिराम चेरुकुरीले विशेष प्रस्तुति दिएका थिए । डा.पोख्रेलका अनुसार अर्थोडोन्टिक चिकित्सा दाँत र जबडाको असामान्य स्थिति सुधार गर्ने, अनुहारको सौन्दर्य वृद्धि गर्ने, दाँतको स्वास्थ्य र चपाइ क्षमतामा सुधार ल्याउने महत्वपूर्ण उपचार भएकाले नेपालमा नवीनतम प्रविधि छिटो भित्र्याउन यस्ता सम्मेलनहरू उपयोगी रहन्छन् ।
सम्मेलनका अवसरमा प्रा.डा. रवीन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठसहित नेपाल–भारतका चिकित्सकहरूको उपस्थिति रहेको थियो ।

