लोड हुँदैछ...

मेनु

सुरक्षा टोलीद्वारा उत्तरी क्षेत्र नेपाल–चीन सीमा स्तम्भको निरीक्षण

सुरक्षा टोलीद्वारा उत्तरी क्षेत्र नेपाल–चीन सीमा स्तम्भको निरीक्षण
सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको नेपाल–चीन सीमामा रहेका सीमास्तम्भहरूको निरीक्षण गरिएको छ। प्रमुख जिल्ला अधिकारीसहितको जिल्ला सुरक्षा टोलीले भोटखोला गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमामा रहेका तीन वटा सीमास्तम्भको निरीक्षण गरेको हो।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नम्बर–४ अरुण गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक बाबुराम पौडेलसहितको जिल्ला सुरक्षा टोलीले भोटखोला गाउँपालिका–१ अन्तर्गत रहेका ६८, ६९ र ७० नम्बरका सीमास्तम्भहरूको निरीक्षण गरेको हो।

प्रमुख जिल्ला अधिकारी थपलियाका अनुसार सङ्खुवासभामा हाल २१ वटा सीमास्तम्भ रहेका छन्। किमाथाङ्कामा रहेको नेपाल–चीन अन्तर्राष्ट्रिय सीमास्तम्भ निक्कै पुरानो भएको बताइएको छ। गत जेठमा आएको बाढीले ७१/१ नम्बरको नेपाल–चीन सीमास्तम्भ बगाएर बेपत्ता बनाएको थियो। भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा आएको बाढीले बगाएको उक्त सीमास्तम्भ हालसम्म फेला परेको छैन।

भोटखोला गाउँपालिका वडा नं. १, २ र ३ चीनको भूभागसँग सिमाना जोडिएका छन्। त्यस्तै, जिल्ला सुरक्षा टोलीले खाँदबारी–किमाथाङ्का सडक खण्डमा पर्ने मतदातास्थल, किमाथाङ्का बिओपी (Border Out Post) र विभिन्न प्रहरी चौकीहरूको समेत निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी थपलियाले जानकारी दिनुभयो।

प्रजिअ थपलियाका अनुसार टोलीले चीनतर्फका काउण्टरपार्टहरूसँग सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र विपद् व्यवस्थापनका विषयमा सूचना आदानप्रदान गरेको छ। साथै, भन्सार कार्यालय किमाथाङ्काको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला सुरक्षित गरिएको छ।

सुरक्षा टोलीले किमाथाङ्का अरुण, माथिल्लो अरुण र अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन, जग्गा मुआब्जा, आयोजना सम्बन्धी नागरिक सुनुवाइ, शान्ति–सुरक्षा, सडक तथा अन्य स्थानीय सरोकारका विषयमा समेत अन्तरक्रिया गरेको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।