लोड हुँदैछ...

मेनु

मध्यरातमा बर्दिबासको बारमा शपथ गणतन्त्रकै उपहास : उपेन्द्र यादव

मध्यरातमा बर्दिबासको बारमा शपथ गणतन्त्रकै उपहास : उपेन्द्र यादव

विराटनगर । मधेस प्रदेशमा मध्यरातमा भएको नाटकीय राजनीतिक घटनाक्रमले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको छ । प्रदेश राजधानी जनकपुरधाम बाहिर, महोत्तरीको बर्दिबासमा रहेको एक होटेलमा नयाँ मुख्यमन्त्रीको नियुक्ति र शपथ ग्रहण गराइएपछि यसको चौतर्फी आलोचना सुरु भएको छ ।

यसै सन्दर्भमा, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त घटनालाई लोकतन्त्र र गणतन्त्रकै उपहासको संज्ञा दिँदै प्रदेश प्रमुखको बर्खास्तीको माग गरेका छन् । हाम्रोमतसँगको विशेष कुराकानीमा अध्यक्ष यादवले मध्यरातमा लुकिछिपी गरिएको शपथ ग्रहणलाई ‘संसारमै नभएको जात्रा’ भन्दै यसले विधिको शासन र राजनीतिक नैतिकताको धज्जी उडाएको बताए ।

‘प्रदेश प्रमुखको आफ्नै कार्यालय र निवास राजधानी जनकपुरमा हुँदाहुँदै, त्यसलाई छोडेर बर्दिबासको एउटा बारमा गएर शपथ गराउनुले कुन राजनीतिक संस्कारको प्रदर्शन गर्न खोजिएको हो ?’ यादवले प्रश्न गरे, ‘योभन्दा हास्यास्पद र दुर्भाग्यपूर्ण के हुन सक्छ ?’

उनले यो सम्पूर्ण अपारदर्शी र अलोकतान्त्रिक कदमको मुख्य जिम्मेवार नेकपा एमाले भएको आरोप लगाए । ‘अहिले देश बर्बाद हुनुको पछाडि नेकपा एमालेको यही अराजनीतिक चरित्र जिम्मेवार छ,’ यादवले भने, ‘उहाँहरूले अझै पनि चेतेको देखिँदैन । हामीले त अब सुध्रिनुभयो होला भन्ने सोचेका थियौँ, तर उहाँहरू कहिल्यै नसुध्रिने देखियो ।’

यो घटनापछि जसपा नेपाल चुप लागेर नबस्ने स्पष्ट पार्दै यादवले आगामी कदमबारे पनि जानकारी दिए । उनका अनुसार पार्टीले यस कदमविरुद्ध राजनीतिक, कानुनी र संसदीय संघर्षको बाटोबाट अगाडि बढ्नेछ । ‘हामी जनतालाई साथमा लिएर यो गलत प्रवृत्तिको भण्डाफोर गर्छौं । एमालेबाहेकका अन्य दलहरूसँग पनि छलफल सुरु भइसकेको छ र यो असंवैधानिक कदमविरुद्ध एक ठाउँमा उभिने सम्भावना प्रवल छ,’ उनले भने ।

प्रदेश प्रमुखको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै यादवले उनको राजीनामा मात्र पर्याप्त नहुने बताए । ‘संवैधानिक पदमा बसेको व्यक्तिले यस्तो अमर्यादित र गैरजिम्मेवार काम गर्न सुहाउँदैन । उहाँलाई पदमा बसिरहने कुनै नैतिक अधिकार छैन । संघीय सरकारले उहाँलाई तुरुन्त बर्खास्त गर्नुपर्छ,’ यादवले भने ।

संवैधानिक अधिकारको प्रयोगका नाममा चोर बाटो अपनाइएको उनको भनाइ थियो । ‘अधिकार छ भनेर दिउँसै, बाजा बजाएर गर्नुपर्छ, राति होटेलको बारमा लुकेर होइन,’ उनले भने, ‘यो कार्यले उहाँहरूको नियत र प्रक्रिया दुवै गलत थियो भन्ने स्पष्ट पारेको छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।