विराटनगर । विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्ट, कर्मचारी र व्यापारीको मिलेमतोमा राजस्व छली हुने पाइएको छ । भन्सार छली गरेर ल्याइएको कपडा र कपुर जस्ता सामान लोड गरिएको ट्याक्टर र त्यसलाई ओसारपसारमा प्रयोग गरिएको एम्बुलेन्समा लोड गर्दा तीन जना पक्राउ परेपछि यस्तो रहस्य बाहिर आएको हो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार, विशेष सूचनाको आधारमा खटिएको टोलीले मंगलबार को १ त ९७१७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । उक्त ट्याक्टरमा प्रज्ञापनपत्रमा उल्लेख गरिएको भन्दा निकै बढी परिमाणमा कपडा, कपुर लगायतका खुद्रा सामानहरू लोड गरिएको थियो । भन्सार छलीको आशंकामा ट्याक्टरसहित सामान आयातकर्ता फर्मका सहयोगी कुन्दन मण्डल र अन्य दुई जनालाई तत्काल नियन्त्रणमा लिइएको श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका कुन्दन मण्डल भन्सार एजेन्टका मुख्य सहयोगी हुन् । भन्सार क्षेत्रमा उनी राजस्व छलीका लागि विभिन्न तरिका अपनाउन माहिर मानिन्छन् र पटक–पटक विवादमा समेत आइसकेका व्यक्ति हुन् । प्रारम्भिक अनुसन्धानबाट मण्डलले भन्सारका केही कर्मचारीसँगको मिलेमतोमा लामो समयदेखि न्यून बिजकीकरण र घोषणा नगरी सामान पास गराउँदै आएको हुनसक्ने भन्दै भन्सारले अनुसन्धान थालेको छ ।
अनुसन्धानमा संलग्न एक भन्सार कर्मचारीका अनुसार, मण्डलले भन्सार छलीका लागि निकै योजनाबद्ध तरिका अपनाएको देखिन्छ । उनले सामान जाँचपासका लागि भन्सारको गोदाममा रहेको सिसिटिभी क्यामेराले नभ्याउने ‘ब्लाइन्ड स्पट’ (अँध्यारो कुनो) प्रयोग गर्ने गरेको पाइएको छ ।
‘मण्डलले गोदामको त्यस्तो कुनामा ट्याक्टर लगेर सामान अनलोड गर्थे र जाँच गरेजस्तो गरेर प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा धेरैसामान पास गराउँथे,“ अनुसन्धानमा संलग्न ती कर्मचारीले भने, ‘त्यसरी छली गरेको सामान बाहिर निकाल्न उनले एम्बुलेन्स जस्तो संवेदनशील सवारीसाधनको दुरुपयोग गरेको पाइयो । हामीले एम्बुलेन्समा सामान लोड गर्न थालेपछि रंगेहात नियन्त्रणमा लिएका हौँ ।’
यो घटनाको अनुसन्धानको नेतृत्व भन्सार अधिकृत तुलसी रेग्मीको टोलीले गरिरहेको छ । टोलीले पक्राउ परेकाहरूको बयान लिने र उनीहरूको सम्पर्क सञ्जालबारे थप खोजी गरिरहेको जनाएको छ ।

