विराटनगर । वडाध्यक्षलाई खुट्टा मालिस गर्न लगाएको भिडियो सार्वजनिक भएपछि आलोचित बनेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट दिएको राजीनामा उपाध्यक्ष कल्पना चौधरीले स्वीकृत गरेकी छन् ।
चौधरीको राजीनामा मंगलबार बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। नेकपा (एमाले) बाट निर्वाचित अध्यक्ष चौधरीले गत कात्तिक ५ गते नै उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए।
‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा उल्लेख छ।
उनले पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस गरेकाले स्वेच्छाले राजीनामा दिएको पत्रमा खुलाएका छन्।
उनीमाथि पटक–पटक मदिरा सेवन गरी कार्यालयमा होहल्ला गर्ने र जनप्रतिनिधिमाथि हुकुमी शासन चलाएको आरोप लाग्दै आएको थियो। उनले वडा नम्बर–५ का कार्यवाहक वडाध्यक्ष हरि खंगलाई आफ्नो खुट्टा मालिस गर्न लगाएको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि विवाद भएको थियो ।


