लोड हुँदैछ...

मेनु

चालु वर्षको तीन महिनामा कोशी प्रदेशको बजेट खर्च ८ प्रतिशत

चालु वर्षको तीन महिनामा कोशी प्रदेशको बजेट खर्च ८ प्रतिशत

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा ८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

चालु आर्थिक वर्षको लागि कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले तीन महिनामा २ अर्ब ८२ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ ।

खर्च भएकोक रकम जम्मा बजेटको करिब ८ प्रतिशत रहेको प्रदेश कोष नियन्त्रक दामोदर खत्रीले जानकारी दिए । सामान्यतया सुरुको त्रैमासिकमा खर्च कम हुने गरेकोमा यो पटक जेनजी आन्दोलनका कारण झनै कम खर्च भएको उनको भनाइ छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बिनियोजन गरेको बजेटमा चालु खर्चका लागि १८ अर्ब ६७ करोड ३३ लाख २० हजार, पूँजीगत खर्चका लागि १७ अर्ब १० करोड ३५ लाख ८० हजार र वित्तीय व्यवस्थापनका लागि १० करोड रुपैयाँ छुट्याइएको छ । सरकारले जेनजी आन्दोलनपछि समग्र बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरिसकेको छ ।

प्रदेश लेखाका अनुसार साउन महिनामा चालुतर्फ ८१ करोड १२ लाख ३६ हजार रुपैयाँ र पूँजीगततर्फ १६ लाख ४४ हजार ९१४ रुपैयाँ सहित प्रदेश सरकारले ८ करोड २६ लाख ८० हजार ९७५ रुपैयाँ खर्च गरेको थियो । भदौमा चालुतर्फ ७४ करोड ६१ लाख ५१ हजार २३५ र पूँजीगततर्फ १३ करोड ५७ लाख ४८ हजार ५३१ सहित जम्मा ८८ करोड १८ लाख ९९ हजार ७६६ रुपैयाँ खर्च भएको छ ।

असोजमा भने खर्च उल्लेख्य रूपमा बढेको छ । चालुतर्फ २ अर्ब १३ करोड ८० लाख ३४ हजार ६६७ र पूँजीगततर्फ ६८ करोड ७५ लाख ३९ हजार ४७७ सहित २ अर्ब ८२ करोड ५५ लाख ७४ हजार १४४ रुपैयाँ खर्च भएको छ । असोजमा बाढीपहिरो पीडितका लागि सरकारले बिभिन्न राहत प्याकेज ल्याएका कारण खर्च बढेको जनाएको छ ।

चालु खर्च भइरहेको भएपनि पूँजीगत खर्चको गति सुस्त छ । योजनाको टेन्डर प्रक्रिया सुरु भइसकेकाले दोस्रो त्रैमासिकदेखि पूँजीगत खर्चमा तीव्रता आउने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।