विराटनगर । नेपालमा बढ्दो बहु दीर्घकालीन रोगहरूको चुनौती सामना गर्न कोशी प्रदेशमा एक अन्तर्राष्ट्रिय अध्ययन सुरु भएको छ। सेन्टर फर रिसर्च, पोलिसी एन्ड इम्प्लिमेन्टेसन (सीआरपीआई) प्रा. लि. को आयोजना तथा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सहकार्यमा ‘बहु दीर्घकालीन रोग सम्बन्धी टाइप–२ इम्प्लिमेन्टेसन ट्रायल अध्ययन’ कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो।
विराटनगरस्थित होटल इस्टर्न स्टारमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरे रहेका थिए । कार्यक्रममा नेपाल सरकारका तीनै तह— संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य क्षेत्रका विज्ञ, नीति निर्माता, चिकित्सक तथा अनुसन्धानकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो महत्वपूर्ण अध्ययन कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा सञ्चालन हुनेछ। अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) को अगुवाइमा हुने यस अध्ययनलाई नेसनल हेल्थ एन्ड मेडिकल रिसर्च काउन्सिल (एनएचएमआरसी) र ग्लोबल एलायन्स फर क्रोनिक डिजिजेज (जीएसीडी) ले सहयोग गरेका छन्। अध्ययनको नेतृत्व विराटनगरका स्थायी बासिन्दा तथा हाल अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा कार्यरत प्रोफेसर डा. उदय नारायण यादवले गर्नेछन् ।
कार्यक्रममा विश्वविद्यालयका तर्फबाट प्रोफेसर डा. उदय नारायण यादव र प्रोफेसर डा. हरि बोन्धु शर्माले अध्ययनको पृष्ठभूमि, उद्देश्य, अनुसन्धान विधि तथा अपेक्षित परिणामबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी वक्ता तथा विज्ञहरूले नेपालमा मधुमेह, उच्च रक्तचाप, हृदय रोग, फोक्सो र मृगौला सम्बन्धी समस्या जस्ता बहु दीर्घकालीन रोगहरू द्रुत रूपमा बढिरहेकोमा चिन्ता व्यक्त गरे। उनीहरूका अनुसार यस्तो अध्ययनले रोगहरूको सामूहिक व्यवस्थापन, प्रारम्भिक निदान र दीर्घकालीन उपचारको प्रभावकारिता बुझ्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलले यस अध्ययनले नीति निर्माणदेखि व्यवहारिक स्वास्थ्य सेवा सुधारसम्मका क्षेत्रमा प्रमाणमा आधारित मार्गनिर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपालजस्तो विकासोन्मुख देशमा बहु(रोग व्यवस्थापनका चुनौतीहरू उच्च छन्। यस्तो अनुसन्धानले हामीलाई समग्र स्वास्थ्य प्रणाली सुधार गर्न वैज्ञानिक आधार तयार पारिदिनेछ।”
कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरू, विभिन्न प्रदेश र स्थानीय तहका स्वास्थ्य प्रमुखहरू, अस्पतालका प्रतिनिधि, र सार्वजनिक स्वास्थ्यका विज्ञहरूको पनि सहभागिता रहेको थियो। उनीहरूले अध्ययनबाट प्राप्त हुने निष्कर्ष र सिफारिसलाई प्रदेश तथा संघीय तहका स्वास्थ्य नीति र कार्यान्वयन योजनामा समायोजन गर्न आग्रह गरे। साथै, प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहबीच सुदृढ समन्वय र दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिइयो।
कार्यक्रमका प्रमुख अतिथि सचिव घिमिरेले अध्ययनको सफलताको शुभकामना व्यक्त गर्दै यसले प्रदेशमा बहुरोग व्यवस्थापनका लागि नयाँ दृष्टिकोण र व्यवहारिक समाधानहरू ल्याउने विश्वास व्यक्त गरे ।
सीआरपीआईका अध्यक्ष बी.एन. चौधरीले संस्थाले आगामी दिनमा यस्तै अध्ययन तथा अनुसन्धानका माध्यमबाट स्वस्थ समाज निर्माणमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाए ।

