खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर तथा अन्य वन्यजन्तुको आतङ्कबाट पीडित किसानलाई राहत दिन हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्ने भएको छ।
१५औँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८३र८४ का लागि पारित नीति तथा कार्यक्रममा यसका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको १ अर्ब १ करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँको बजेटमा कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखिएको छ। बाँदरलगायत वन्यजन्तुबाट हुने बाली क्षति न्यूनीकरणका लागि छुट्टै कार्यक्रम समावेश गरिएको हो।
नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार बाँदर समस्याको समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना तयार गरिएको छ। सङ्घीय सरकार तथा छिमेकी स्थानीय तहसँग समन्वय गरेर समस्या समाधानका उपाय अघि बढाइने उनले बताए। नगरसभाबाट प्रत्येक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रमसमेत पारित गरिएको छ।
नगरपालिकाले आगामी वर्षदेखि ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। यसअन्तर्गत प्राविधिक सेवा किसानको घरदैलोमै पुर्याइने, उन्नत बीउबिजन वितरण गरिने तथा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
यसैबीच, खोटाङका अन्य स्थानीय तहले पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रम जारी राखेका छन्। जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले असार ७ गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन्। ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाले ८४ करोड ११ लाख ८२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
केपिलासगढी गाउँपालिकाले मंगलबार सम्पन्न १९औँ गाउँसभामार्फत ४७ करोड ५१ लाख पाँच हजार १७० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। गाउँपालिका उपप्रमुख गुरुराज राईले पुँजीगत खर्चतर्फ १७ करोड १२ लाख ५१ हजार रुपैयाँ र चालु खर्चतर्फ ३० करोड ३८ लाख ५४ हजार १७० रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा खोटेहाङ, साकेला, रावाबेँसी, बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकाले बुधबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।